असोज ६ मा काठमाडौंबाट पक्राउ परेका जोशीलाई सूर्यदर्शन सहकारीको बचत अपचलनमा अनुसन्धान र बयानका लागि पोखरा लगिएको थियो, उनीमाथि अनुसन्धानका लागि अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरेको छ
बुटवल — बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी बयानका लागि गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीलाई सोमबार बुटवल ल्याइएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई विमानबाट बुटवल ल्याइएको हो ।
रूपन्देही प्रहरी प्रवक्ता एवं डीएसपी लक्ष्मी खड्काका अनुसार जोशीलाई सोमबार नै जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरिएको छ । उनको बयान भने मंगलबारदेखि हुनेछ । ‘मुद्दा बुटवलबाट चलेका कारण उहाँलाई इलाका प्रहरी कार्यालयमै राखिएको छ,’ उनले भनिन् ।
बुटवलको सुप्रिम बहुउद्देश्यीय सहकारीबाट झन्डै १५ करोड रकम गोर्खा मिडियाको खातामा जम्मा भएको प्रहरी अनुसन्धानमा देखिएको छ । त्यसमध्ये २ करोड गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेका नाममा, २ करोड ५० लाख जोशीका नाममा, ४ करोड ५ लाख गोर्खा मिडियाका नाममा, १ करोड ५६ लाख १५ हजार रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका नाममा, ३ करोड ३० लाख भूपेन्द्रबाबु राईका नाममा र १ करोड ३ लाख ३६ हजार रुपैयाँ कुमार रम्तेलका नाममा गरी १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गएको अनुसन्धानबाट देखिएको छ ।
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा गत असोज ६ मा काठमाडौंबाट पक्राउ परेका जोशीलाई पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलनमा अनुसन्धान र बयानका लागि लगत्तै पोखरा लगिएको थियो । जोशीमाथि अनुसन्धानका लागि अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरेको छ ।
संसदीय विशेष छानबिन समितिको पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो । प्रतिवेदनमा सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका सञ्चालक जोशीसहित कार्यकारी अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिएको छ ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि रास्वपा सभापति लामिछाने पनि शुक्रबार पक्राउ परिसकेका छन् । उनलाई ६ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार कास्की जिल्ला अदालतले अनुमति दिएको छ । कास्की प्रहरीले लामिछानेमाथि सूर्यदर्शन सहकारी बचत अपचलन प्रकरणमा अनुसन्धान थालेको छ ।
सूर्यदर्शन सहकारीका पीडित कृष्णप्रसाद जैसीसहित १ हजार ३५ जना पीडितको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २०८० असोज १८ मा जीबी राईसहित १९ जनालाई प्रतिवादी बनाउँदै अदालतमा अभियोगपत्र बुझाएको थियो । त्यतिबेला हदम्यादभित्र अनुसन्धान नसकिने भएकाले पछि पूरक अभियोजन ल्याउने गरी कार्यालयले अदालतसँग अनुमति मागेको थियो । पीडितले माघ १६ मा लामिछानेसहितलाई छानबिनको दायरामा ल्याउन प्रहरीलाई निवेदन बुझाएका थिए ।
