कास्की — पोखरा महानगरपालिका-१७ मुस्ताङचोक सहकारीपीडितले प्रदर्शन गरेका छन् । यसअघि राष्ट्र बैंकचोकमा प्रदर्शन गर्ने तयारी गरे पनि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेपछि उनीहरूले मुस्ताङचोकमा प्रदर्शन गरेका हुन् ।
सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति/सहकारी बचत पीडित संघ कास्कीको आयोजनामा प्रदर्शन गरिएको हो । गोर्खा मिडिया प्रालिमा दुरुपयोग भएको बचत रकम तुरुन्त फिर्ता गर्न उनीहरूको माग छ । गोर्खा मिडिया प्रालिका सञ्चालकका विषयमा निष्पक्ष छानबिन गर्नसमेत उनीहरूको माग छ । 
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि नेता कार्यकर्ताले शनिबार र आइतबार पोखरामा प्रदर्शन गरेका छन् । रास्वपा नेता कार्यकर्ता सहिदचोकमा प्रदर्शन गरिरहेका छन् । दुई पक्षबीच झडप हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिदचोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।
