कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

थामे बाढीबाट २३ घरमा क्षति, एक जना बेपत्ता

थामे बाढीबाट २३ घरमा क्षति, एक जना बेपत्ता

Highlights

  • जलविद्यु‌त्‌काे ड्याम भत्कियो, उत्पादन बन्द
  • दूधकोसीको एउटा पुल भासियो, किनारमा राखिएको पुरानो बेलिब्रिज पनि बगायो

काठमाडौँ — सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका–५ थामेमा आएको बाढीले २३ घरमा क्षति पुगेको छ । स्थानीय ५५ वर्षीय नुरु टुडु शेर्पा बेपत्ता छन् । स्थानीय जलविद्युत् आयोजनाको ड्यामसमेत बाढीले भत्काएको छ । विद्युत्‌को ड्याम भत्किँदा त्यस क्षेत्रमा विद्युत् र सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार थामेमा आएको बाढीबाट १३ घर पूर्ण र १० घरमा आंशिक क्षति भएको छ । एक विद्यालय भवन, एक स्वास्थ्य क्लिनिक र २ वटा होटलका भौतिक संरचनामा पनि पूर्ण रुपमा क्षति पुगेको छ ।

खुम्बू विद्युत् कम्पनीको ड्याम क्षतिग्रस्त हुँदा विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ । थामेबाट ९ किलोमिटर माथि रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेर थामे खोला (भोटेखोला)मा बाढी आई गाउँ नै बगाएको थियो । थामेखोलाको बाढीले दूधकोसी नदीको तटीय क्षेत्रलाई समेत असर गरेको छ । प्राधिकरणका अनुसार बाढीले सोताङ गाउँपालिका–१ दिप्लिघाटमा भण्डारण गरिएको पुरानो बेलिब्रिजको सामान बगाएको छ भने माप्य दूधकोसी गाउँपालिका–१ अँधेरीस्थित दूधकोसीकै स्टिल ट्रस पुलको एकातिरको भाग भासिँदा आवागमन बन्द भएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले हाललाई ताल फुटेर आएको तल्लो तटीय क्षेत्रको जोखिम केही कम भए पनि अरू दुईवटा तालसमेत जोखिमपूर्ण रहेकाले सोलु, ओखलढुंगा र खोटाङका स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच आपसी समन्वय गरेर जोखिम न्यूनीकरणका उपायबारे समन्वयमा काम भइरहेको बताइन् ।

प्रकाशित : भाद्र १, २०८१ २०:०३
×