थामेका बाढी पीडितलाई राहत वितरण

भाद्र १, २०८१

डम्बरसिं राई

Relief distribution to Thameka flood victims

खोटाङ — थामेका बाढीपीडितलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले राहत वितरण गरेको छ । पूर्ण विस्थापित भएकालाई प्रतिपरिवार ५० हजार र आंशिक क्षति भएकालाई प्रतिपरिवार १० हजार रूपैयाँका दरले शनिबार राहत वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष मिङ्‌माछिरी शेर्पाका अनुसार पूर्ण रूपमा विस्थापित भएका १५ घरपरिवारलाई ५० हजार र आंशिक क्षति भएका ३० घर परिवारलाई १० हजार रूपैयाँका दरले राहत वितरण गरिएको छ । गृह मन्त्रालयले पनि पूर्ण क्षति भएका १५ घरपरिवारलाई १५ हजार रूपैयाँका दरले राहत वितरण गरेको छ । 

बाढीमा आङडोमा शेर्पा, दादीकी शेर्पा, मिङ्मारिता शेर्पा, मिङ्मानुरु शेर्पा, कामीतम्बा शेर्पा, आपा शेर्पा, जाङ्भु शेर्पा, मिङ्मानुरु शेर्पा, कामीरिता शेर्पा, टसी शेर्पा (याक), थुप्तेन दोर्जी शेर्पा, ङिमा शेर्पा, ल्हाट्पा गेल्जेन शेर्पा, मिङ्माफुटी शेर्पा र आङफुर्बा शेर्पा पूर्ण रूपमा विस्तापित भएको र उनीहरूलाई गाउँपालिकाको ५० हजारका दरले र गृह मन्त्रालयको १५ हजार रुपैयाँका दरले राहत वितरण गरिएको अध्यक्ष शेर्पाले बताए ।

‘बाढीले पूर्ण रूपमा विस्थापित भएकाहरूका लागि बन्दोबस्तीका सामानहरू केही पनि छैन, त्यसको व्यवस्था गर्नु पर्ने छ,’ अध्यक्ष शेर्पाले भने, ‘यो दुःखको बेला पहिलो चरणमा पूर्ण विस्थापितलाई ५० हजारका दरले राहत दिएका छौं ।’ 

शनिबार रक्षमन्त्री मानवीर राई, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेट शेर्पा, कोसी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी, नेपाली सेनाका सहायक रथी प्रेमध्वज अधिकारी, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउापालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुटेर शुक्रबार थामेका २० घर तथा होटल लज, एउटा विद्यालय, स्वास्थ्यचौकी र स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रूपले क्षतिग्रस्त बनाएको थियो । यसका साथै खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully