ओली मन्त्रिपरिषद् : दुई उपप्रधानसहित २१ मन्त्रीले लिए शपथ

असार ३१, २०८१

कान्तिपुर संवाददाता

Oli Council of Ministers: 21 ministers including two deputy prime ministers took oath

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् ।

कांग्रेसबाट  प्रकाशमान  सिंह र  एमालेबाट विष्णु पौडेल  उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह  र पौडेल विगतमा पनि पटक पटकमन्त्री भएका व्यक्ति हुन् । 

कांग्रेसबाट  प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा पाएका छन् । नयाँ सरकारमा कांग्रेसकी आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् ।

त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही  वनमन्त्री बनेका छन् । तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

कांग्रेसको  शेखर कोइरालाबाट  स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल,  पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीले जिम्मेवारी पाएका छन् ।

एमालेबाट  उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बनेका  छन् । मधेशबाट राजकुमार गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ । त्यस्तै सोलुखुम्बुका सांसद मानवीर राई रक्षामन्त्री बनेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बनेका छन् । भण्डारी र अधिकारी उनीहरू पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सोही जिम्मेवारीमा थिए ।

त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र  देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्रालयी बनेका छन् ।

लोसपाबाट शरदसिंह भण्डारी  श्रममन्त्री बनेका छन् । त्यस्तै जसपाबाट नवलकिशोर साह सुडी महिला बालबालिका तथा जेष्ठ नागरिक र प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् । 

कान्तिपुर

Link copied successfully