काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले ५ लाख भन्दा कम रकम विनियोजन गर्नु गलत भएको बताएका छन् । संघ सरकारको सहरी विकास मन्त्रालयले पाँच लाखभन्दा कम बजेटका योजना विनियोजन गरेकोमा आपत्ति जनाए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय सरकारले ५ करोड भन्दा कम बजेट विनियोजन नगर्ने प्रतिबद्धता जनाएपछि त्यस विपरीत बजेट आएको भन्दै सांसद घर्तीले आपत्ति जनाए ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद घर्तीले ५ करोड भन्दा कम बजेट संघीय सरकारले नगर्ने भन्ने सहमति विपरीतका बजेट विनियोजन गर्नु गलत भएको बताए । उनले द्वन्द्व पीडितहरूलाई क्षतिपूर्ति दिनका लागि बजेट विनियोजन नगरिएकामा पनि असन्तुष्टि जनाए ।
‘सहरी विकास मन्त्रालयको बजेटमा ५ लाख बराबरको योजनाहरू १ सय ७७ वटा रहेछन् । जबकी हामीले ५ लाखभन्दा कम रकमका योजना समावेश नगर्ने भनेका थियौं । तर ५ लाख बराबरको १ सय ७७ वटा योजना छन्,' घर्तीले भने, '३ लाखका २४ वटा योजनाहरू छन् र, १ लाखका ९१ वटा योजनाहरू देखिएका छन् । प्रधानमन्त्री र अर्थमन्त्रीको भनाई र गराई मिलेन कि भन्ने मलाई लागिराखेको छ । यो ५ लाख, ३ लाख, २ लाखका योजना तयार गर्दाखेरी मिलेन भन्ने मलाई लाग्छ ।’
सांसद घर्तीले बजेट वितरणमुखि भएको पनि टिप्पणी गरेका छन् ।
