खिचडीजस्तै सरकार छ, बजेट पनि त्यस्तै आयो :  पूर्वप्रधानमन्त्री भट्टराई

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

The government is like Khichdi, the budget also came like that: Former Prime Minister Bhattarai

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ बजेट विगतकै निरन्तरताको अर्को रूप भएको टिप्पणी गरेका छन् । अर्थमन्त्री वर्षमान पुनले संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेटमाथि टिप्पणी गर्दै उनले बजेटले उत्पादनमा वृद्धि, लाखौँ रोजगारीको सिर्जना, शिक्षाको  गुणस्तरमा वृद्धि  गर्न ‘क्रमभंग गर्न नसकेको’ बताए ।

‘समग्र अर्थतन्त्रमा संरचनागत सुधार गरी क्रमभंग गर्ने गरी बजेट आएन सकेन,’ उनले भने, ‘सरसर्ती हेर्दा यो बजेट विगतकै निरन्तरताको नयाँ श्रृंखला मात्र हो ।’ उनले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्ने गरी कार्यक्रम ल्याउन चुकेको बताए ।

‘समाजवादउन्मुख भनेर मात्र हुँदैन । उत्पादन बढाउने मुख्य उद्देश्य राखिएको छ । तर न्यायपूर्ण वितरणको कुनै योजना छैन ।’ उनले सरकारको संरचनाअनुसार ‘खिचडी’ बजेट आएको टिप्पणी गरे । ‘यो बजेट दक्षिणपन्थी र वामपन्थी मिसिएको पपुलिस्ट कार्यक्रम  हो’ उनले भने, ‘सरकार जस्तो खिचडी छ, बजेट पनि त्यस्तै आयो ।’ 

उनले अर्थमन्त्री पुनले चाहेर पनि समग्र अर्थतन्त्रको संरचनात्मक सुधार गर्ने कार्यत्रम ल्याउन चुकेको बताए । ‘समग्र अर्थतन्त्रको संरचनामा सुधार नगरी मुलुकका अति विकसित मुलुकमा जाने आधार तयार हुँदैन ।’ उनले यो बजेजमा पुँजीगत खर्चमा विनियोजन गरिएको बजेट करिब २० प्रतिशत भएकाले त्यसबाट हुने समृद्धि एउटा नारा मात्र हुने जोखिम भएको बताए । ‘केही लोकप्रिय कार्यक्रम र नारा दिइएको छ । जबकी कृषि देशक घोषणा भएको छ, तर बजेट घटेको छ’ उनले भने ।

उनले बजेटका पाँच उद्देश्यलाई पछ्याउन कठिन हुने बताए । बजेटमा उत्पादन, उत्पादकत्व र रोजगार  स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु उल्लेख छ ।

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully