काठमाडौँ — सरकारले गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउन 'गैरआवासीय नेपाली अभियान सञ्चालन' गर्ने जनाएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै विदेशको आम्दानी स्वदेशमा लगानी अन्तर्गत गैरआवासीय नेपालीको पुँजी, प्रविधि र सीपलाई मातृभूमिसँग जोड्न जन्मस्थलमा 'गैरआवासीय नेपाली अभियान सञ्चाल'न गरिने जनाएका हुन् ।
गैरआवासीय नेपालीद्बारा स्थापित एनआरएन डेभेलपमेन्ट फण्डको उपयोग र लगानीका थप अवसर प्रवर्द्धन गर्न सहजीकरण गरिने बजेटमा उल्लेख छ। अर्थमन्त्री पुनले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको भूगोल, कला र संस्कृतिसँग परिचित हुन पुर्ख्यौली थलोमा भ्रमण गर्न आह्वान गरेका छन् ।
