कान्तिपुर अध्यक्षलाई पक्राउ गरिएकामा प्रेससम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा भर्त्सना, रिहाइको माग

स्वतन्त्र प्रेसप्रतिको प्रतिबद्धतामा अडिग रहन नेपाल सरकारसँग आग्रह

जेष्ठ ११, २०८१

कान्तिपुर संवाददाता

Criticism by international organizations related to the press for the arrest of the Kantipur president, demand for his release

काठमाडौँ — विभिन्न सहकारीको कम्तीमा ९५ करोड ८१ लाख गोर्खा मिडियामा ल्याएर अपचलन गरेको समाचार प्रकाशित गरेको प्रतिशोधमा सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेकामा अन्तर्राष्ट्रिय मिडिया समुदायले गम्भीर चासो व्यक्त गर्दै रिहाइको माग गरेका छन् ।

पत्रकारहरूको विश्वकै ठूलो संगठन इन्टरनेसनल फेडरेसन अफ जर्नालिस्ट (आईएफजे), विश्वभर प्रेस स्वतन्त्रताबारे प्रतिवेदन तयार गर्ने रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ), अमेरिकाको सोसाइटी अफ प्रोफेसनल जर्नालिस्ट्स (एसपीजे), ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र इन्टरनेसनल प्रेस इन्स्टिच्युट (आईपीआई) नेपाल च्याप्टरले सिरोहियाको तत्काल रिहाइको माग गरेका छन् ।

साथै, नेपालस्थित अमेरिकी दूतावासले पनि सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्न नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ । 

आईएफजेले अध्यक्ष सिरोहियाको गिरफ्तारी गम्भीर चिन्ताको विषय भएको बताएको छ । ‘गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा लामिछाने (गृहमन्त्री रवि) ले सहकारी कोषको बचतमा करोडौं नेपाली रुपैयाँ हिनामिना गरेको आरोपको विस्तृत रिपोर्टको शृंखलापछि अध्यक्षको गिरफ्तारी भएको हो,’ आईएफजेद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ । व्यक्तिगत वा राजनीतिक कारणले पत्रकार र सञ्चारकर्मीविरुद्धको अनुसन्धानलाई सूचित गर्न नसकिने र अधिकारीहरूले प्रेस स्वतन्त्रताप्रति नेपालको प्रतिबद्धतालाई सुनिश्चित गर्नॅपर्ने आईएफजेको धारणा छ । 

यस्तै, आरएसएफले अध्यक्ष सिरोहियालाई हिरातसमा राख्नु दुर्व्यवहार भएको जनाएको छ । ‘ठगी र हिनामिनामा गृह मन्त्रालयको संलग्नताको अनुसन्धान गरेको बदलास्वरूप कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गरेर दुई दिनदेखि हिरासतमा राखिएको छ । उहाँलाई रिहा गर्नॅपर्छ र केएमजीको काममा कुनै पनि बाधा पुग्नुहुन्न,’ आरएसएफले सामाजिक सञ्जाल एक्समा भनेको छ । 

एसपीजेले सिरोहियामाथि नेपाल सरकारले निष्पक्ष रूपमा छानबिन गर्ने आशा गरेको जनाएको छ । एसपीजेकी अध्यक्ष असान्टी ब्लेज हप्किन्सले एक वक्तव्य जारी गर्दै अध्यक्ष सिरोहियालाई रिहा गर्न माग गर्दै स्वतन्त्र र निर्बाध प्रेसप्रतिको प्रतिबद्धतामा सरकारलाई अडिग रहन आग्रह गरेकी छन् । ‘शृंखलाबद्ध रूपमा गृहमन्त्रीमाथि रिपोर्टिङ गरिरहेको नेपालको अग्रणी दैनिक कान्तिपुरका प्रकाशक सिरोहियालाई गृहमन्त्रीको निर्देशनमा पक्राउ गरिएको भन्ने हामीले भर्खरै थाहा पायौँ,’ अध्यक्ष हप्किन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रहरीले नागरिकतासम्बन्धी छानबिन भने पनि सिरोहियालाई पक्राउ गर्नुको वास्तविक उद्देश्य के हो भन्ने आफूहरूको पनि प्रश्न रहेको अध्यक्ष हप्किन्सले बताएकी छन् । सिरोहियालाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेर सम्पूर्ण प्रेस जगत्लाई तर्साउन खोजिएको हो कि भन्ने पत्रकार महासंघको आशंकालाई पनि एसपीजेले विज्ञप्तिमा दोहोर्‍याएको छ । 

त्यस्तै अन्तर्राष्ट्रिय संस्था द कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले समेत सिरोहिया पक्राउको घटनाप्रति गम्भीर चासो प्रकट गरेको छ । सीपीजेले समाचारको बदलास्वरूप देशको सबैभन्दा ठूलो मिडिया ग्रुपको नेतृत्व र कर्मचारीलाई हतोत्साही गर्ने र धम्क्याउने कार्य नगर्नसमेत भनेको छ । ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उनकै कार्यकक्षबाट पक्राउ गर्नु नेपालकै ठूलो मिडिया ग्रुपले गर्दै आएको आलोचनात्मक रिपोर्टिङ बन्द गराउने कदम हो,’ सीपीजेका कार्यक्रम निर्देशक कार्लोस माटिर्नेज डे ला सेर्नाले भनेका छन्, ‘हामी नेपालका सम्बन्धित अधिकारीलाई कान्तिपुर मिडिया ग्रुपलाई स्वतन्त्र र कुनै पनि प्रतिशोधको डरबिना काम गर्ने वातावरण सुनिश्चित गर्न पनि आग्रह गर्दछौं ।’

त्यस्तै अमेरिकाले पनि केएमजीका अध्यक्ष सिरोहिया पक्राउको घटनाप्रति चासो प्रकट गरेको छ । ‘कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौं,’ बुधबार सामाजिक सञ्जालमार्फत अमेरिकी दूतावासले भनेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सत्ता र शक्तिको पहुँचका आधारमा बदलाको भावनाले नागरिकविरुद्ध राज्यशक्ति दुरुपयोग गर्नॅ अनुचित भएको जनाएको छ । सहकारी ठगी प्रकरण र सिरोहियाको पक्राउलाई लिएर ट्रान्सपरेन्सी इन्टरनेसनलकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले विज्ञप्तिमार्फत भनेकी छन्, ‘सत्ता र शक्तिमा पहुँचका आधारमा कसैलाई अपराधबाट उन्मुक्ति दिने तानाबाना बुन्नु जति अनुचित हो, स्वार्थको द्वन्द्व, रिसइवी वा बदलाको भावनाले कुनै पनि नागरिकविरुद्ध राज्यशक्तिको दुरुपयोग गर्नॅ पनि उत्तिकै अनुचित हो ।’

भ्रष्टाचार, जालसाजी, सार्वजनिक सम्पत्ति र रकमको अपचलन लगायत गम्भीर आपराधिक मामिलाहरू राजनीतिक स्वार्थ र लेनदेनका आधारमा दबाउने, कारबाही नै प्रारम्भ नगर्ने, छानबिन नै हुन नदिने, मुद्दा नै नचलाउने, शक्तिको केन्द्रमा रहेका जिम्मेवार व्यक्तिहरूलाई छानबिनको घेराबाटै बाहिर राख्ने, चलिरहेको छानबिन नै रोक्ने, साथै अदालतले दोषी ठहर गरेकाहरूलाई समेत सजायबाट उन्मुक्ति दिनेजस्ता घटना र प्रवृत्ति निरन्तर बढ्दै गएको देखिएको भन्दै ट्रान्सपरेन्सीले चिन्ता व्यक्त गरेको छ । 

‘देशमा कसैले कुनै पनि बहानामा कानुनी प्रक्रियाबाट उन्मुक्ति पाउनु हुँदैन र सबै नागरिकले संविधान तथा कानुनले प्रत्याभूत गरेको संरक्षण पनि पाउनुपर्छ । अन्यथा दण्डहीनताले प्रश्रय पाउनुका साथै कानुनी राजको उपहास हुने र सुशासन जरैदेखि कमजोर भएर मुलुक गम्भीर असहजतातर्फ उन्मुख हुने कटु सत्यतर्फ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल जिम्मेवार पक्षको ध्यान आकर्षित गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाका विश्लेषक विनोद भट्टराई प्रेस स्वतन्त्रता र मिडियामाथि आक्रमण हुनु गलत भएकाले सिरोहिया पक्राउको घटनामा अन्तर्राष्ट्रिय मिडिया संघसंस्थाहरूले गम्भीर चासो व्यक्त गरेको बताउँछन् । ‘प्रेस स्वतन्त्रता र मिडियासम्बन्धी विषयलाई फौजदारी घटनाअन्तर्गत राख्न हुँदैन भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । प्रेस र मिडिया सम्बन्धित घटनालाई देवानी संहिताअन्तर्गत राख्नुपर्ने हो । तर हाम्रोमा उल्टो छ । नेपालमा ऐनहरूले त्यस्तो गरेको पाइँदैन,’ उनले भने । 

फ्रिडम फोरम नेपालका अध्यक्ष तारानाथ दाहाल सिरोहिया गिरफ्तारीले नेपालमा प्रेस स्वतन्त्रताको अवस्था झ्न कमजोर छ भन्ने देखाएको मान्छन् । ‘हाम्रोमा पत्रकार मारिने र जेल जाने कम थियो । तर केएमजीका अध्यक्ष सिरोहियाको घटनाले नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर बन्दै गएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा गएको छ । त्यही कमजोर अवस्थाको बारेमा अन्तर्राष्ट्रिय समुदायले बोलेका हुन्,’ उनले भने । उनले यो नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि राम्रो सन्देश नभएको प्रस्ट पारे । 

मिडिया र सूचना प्रविधिका विज्ञ तथा अधिवक्ता बाबुराम अर्याल अन्तर्राष्ट्रिय मिडिया समुदायले नेपालको घटनाबारे एकपछि अर्को गर्दै यसरी प्रतिक्रिया दिनुले नेपालमा व्यावसायिक पत्रकारितामा सरकारको हस्तक्षेप भएको प्रस्ट देखिएको मान्छन् । ‘नेपालमा अन्तर्राष्ट्रिय समुदायले लोकतन्त्र र प्रेस स्वतन्त्रतामा कमजोरी भएको औंल्याएको छ । जुन हाम्रो लागि दुःखद् कुरा हो । यसले प्रेस क्षेत्रमा मात्र होइन, लगानीलगायत अन्य क्षेत्रमा पनि असर पर्छ,’ उनले भने ।

गोर्खा मिडिया नेटवर्कमा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा मंगलबार कान्तिपुरमा समाचार छापिएको थियो । लगत्तै मंगलबार बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । त्यसपछि नागरिकताको विषयमा भन्दै अध्यक्ष सिरोहियालाई प्रहरीले समातेर धनुषा लगेको थियो । बुधबार थप तीन दिन हिरासतमा राख्न म्याद थप गरिएको छ । 

कान्तिपुर

Link copied successfully