नेता चौधरीको प्रश्‍न - 'दोहोरो पासपोर्ट राख्ने लामिछानेलाई किन गिरफ्तार नगर्ने ?'

जेष्ठ १०, २०८१

शंकर आचार्य

Neta Chaudhary's question - 'Why not arrest Lamichhane who has a double passport?'

पर्सा — कांग्रेस नेता तथा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रेस स्वतन्त्रता माथिको ठूलो आक्रमण भएको बताएका छन् ।

सरकारको आलोचना गरेको र गृहमन्त्री रवि लामिछानेविरुद्ध संलग्न रहेको सहकारी ठगी प्रकरणको समाचार लेखेको प्रतिशोधमा सिरोहियालाई गिरफ्तार गरिएको छर्लंग रहेको बताउँदै चौधरीले दोहोरो पासपोर्ट राख्ने लामिछानेलाई किन गिरफ्तार नगर्ने भनि प्रश्न गरे । कसैले उजुरी गर्दैमा जाँचबुझ र आफ्नो भनाई समेत राख्ने मौका नदिई एकै पटक गिरफ्तारीको बाटो अपनाउनु अधिनायकवाद भएको उनले बताए । ‘यो प्रेस स्वतन्त्रता र लोकतन्त्र माथिको पनि आक्रमण हो,’ चौधरीले भने, ‘भ्रष्टाचार, कुशासन, संविधान र कानूनलाई मिचेर अनियमितता गर्नेविरुद्ध समाचार लेख्ने संस्थाविरुद्ध भएको गम्भीर आक्रमण हो ।’

चौधरीले यस्तै स्थिति रहे मुलुकमा अर्को राजनीतिक विद्रोह हुन सक्ने औंल्याए । ‘यो पन्चायतकालीन शैली भयो, त्यतिबेला यस्तै हुन्थ्यो,’ उनले भने, ‘पहिले थुन, अनि सुन शैली देखियो, जुन आजको युगमा उचित छैन ।’

कांग्रेस केन्द्रीय सदस्य अजय चौरसियाले सिरोहियाको गिरफ्तारी अनुचित रहेको बताए । ‘जुन शैलीमा मुलुकको अग्रणी संचार गृहका अध्यक्ष तथा प्रतिष्ठित संचार उद्यमीलाई गिरफ्तार गरियो त्यो बिल्कुलै गलत हो,’ उनले भने, ‘सुनुवाइको मौकासमेत नदिई, संचारगृहभित्रै सुरक्षाकर्मी बुट बजार्दै जानु तानाशाही शैली हो, यसले देशमा लोकतन्त्र नभई अधिनायकवाद रहेको संकेत गर्छ ।’

चौरसियाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संचारजगतलाई दमन गर्न अपनाएको शैली गृहमन्त्री लामिछानेले अपनाएकाले उनमा ज्ञानेन्द्र जत्तिकै अहं आइसकेको आरोप लगाए । ‘कुनै व्यक्तिको लहड र निजी अह्मले सरकार चल्छ भने त्यो मुलुकमा गम्भीर संकट आउन सक्ने संकेत हो,’ उनले भने, ‘सत्ता गठबन्धन र रास्वपाका अन्य पदाधिकारीले लामिछानेबारे समयमै उचित निर्णय नलिए सरकार र उनको पार्टी पनि संकटमा पर्न सक्छ ।’

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully