कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बारका पूर्वअध्यक्ष खड्काको प्रश्न : सरकारी कर्मचारीले गरेको कमजोरीमा सिरोहियालाई पक्राउ गर्न मिल्छ ?

'नागरिकता नम्बर सच्याउने कुराको लागि यत्रो बबण्डर गर्नुपर्छ र ? मान्छेलाई पक्राउ गर्नुपर्छ ? मान्छेलाई रातारात पक्राउ गर्नुपर्छ ?' 

काठमाडौँ — नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले सरकारी अधिकारीले गरेको कमजोरीमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको बताएका छन् ।

बारका पूर्वअध्यक्ष खड्काको प्रश्न : सरकारी कर्मचारीले गरेको कमजोरीमा सिरोहियालाई पक्राउ गर्न मिल्छ ?

नेपाल पत्रकार महासंघ र नेपाल पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखाले बिहीबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेले संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर कार्य गरिरहेको पनि बताए ।

सिरोहियालाई पक्राउ गरेको घटनाले प्रधानमन्त्री र गृहमन्त्री संविधानको व्यवस्थाभन्दामाथि रहेको आशंका जन्माएको उनको भनाइ थियो ।

'हामी संवैधानिक सर्वोच्चतामा छौं । संविधान कानुन मान्छौं । संविधानभन्दा ठूलो कोही पनि छैन भन्ने मान्यता राख्छौं । हामीकहाँ लिखित संविधान छ र संविधानमाथि कोही पनि छैन भन्ने कुराको मान्यता हो । गृहमन्त्री अथवा प्रधानमन्त्री संविधानभन्दा माथि हुन्छ ?,' वरिष्ठ अधिवक्ता खड्काले भने, 'दुई नागरिकतामा एउटै नम्बर लेख्ने काम कैलाश सिरोहियाले गरेका हुन् ? त्यो नम्बर लेख्ने त अधिकारी हो । जो मान्छेले दिएको छ, पहिलो दिने मान्छेको नम्बर पनि त्यै मान्छेले लेख्या हो दोस्रो नम्बर पनि त्यै मान्छेले लेखेको हो । नागरिकता नम्बर सच्याउने कुराको लागि यत्रो बबण्डर गर्नुपर्छ र ?'

सरकारी अधिकारीले गरेको कमजोरी सच्याउनका लागि सिरोहियालाई पक्राउ गर्न आवश्यक नदेखिएको वरिष्ठ अधिवक्ता खड्काको भनाइ थियो ।

अन्तर्क्रियामा वरिष्ठ अधिवक्ता खड्काले गरेको सम्बोधनको सम्पादित अंश :

हामीले संविधान बनायौं । हामी सार्वभौमसत्ता सम्पन्न जनता भयौं । कैलाश सिरोहियालाई अनुसन्धान गर्नुहुँदैन कसैले भन्नुपर्ने अवस्था होइन । अनुसन्धान गर्नुपर्छ । तर, उहाँलाई संविधानले नै सम्मानपूर्वक बाँच्न पाउने अधिकार त दिएको छ नि ! उहाँको मिडियामा तल प्रहरी राख्ने, माथि गएर पक्राउ गरेर अड्डासार गरेर लैजानुपर्ने परिस्थिति को कि होइन ? उहाँलाई सम्मानपूर्वक बाँच्न नदिने, नेपालीका रूपमा बाँच्न नदिने र प्रेसलाई कुण्ठित गर्ने कुरा भएका कारणले यस घटनाप्रति दुःख प्रकट गर्छु ।

हामी संवैधानिक सर्वोच्चतामा छौं । संविधान, कानुन मान्छौं । संविधानभन्दा ठूलो कोही पनि छैन भन्ने मान्यता राख्छौं । हामीकहाँ लिखित संविधान छ र संविधानमाथि कोही पनि छैन भन्ने मान्यता हो । गृहमन्त्री अथवा प्रधानमन्त्री संविधानभन्दा माथि हुन्छ ? यो संविधानभन्दा माथिको काम गर्छु भनेर जो लाग्नुभएको छ त्यो नै खेदजनक हो । यो सरकारले जे सत्ता चलाउन खोजेको छ संविधानभन्दा माथि छ । हामीले २४० वर्षको राज्यसत्ता त सिध्यायौं अनि तपाईंहरू दुई दिन सत्तामा बस्दाखेरि संविधानभन्दा माथि बन्न खोजिरहनु भएको छ, त्यतापट्टी नलाग्नुस् भन्ने आह्वान गर्नुपर्छ ।

जहाँसम्म अनुसन्धानका कुराहरू छ कैलाश सिरोहियाको, एउटै नागरिकता नम्बरमा दुईवटा नागरिकता लिएको हो । त्यही नम्बरमा एकजना मान्छेले लियो अर्को दिन त्यही नम्बरमा कैलाश सिरोहियाले लिनुभयो भन्ने उहाँहरूको भनाइ छ । दुई नागरिकतामा एउटै नम्बर लेख्ने काम कैलाश सिरोहियाले गरेका हुन् ? त्यो नम्बर लेख्ने त अधिकारी हो । जो मान्छेले दिएको छ, पहिलो दिने मान्छेको नम्बर पनि त्यै मान्छेले लेख्या हो दोस्रो नम्बर पनि त्यै मान्छेले लेखेको हो । नागरिकता नम्बर सच्याउने कुराको लागि यत्रो बबण्डर गर्नुपर्छ र ? मान्छेलाई पक्राउ गर्नुपर्छ ? मान्छेलाई रातारात पक्राउ गर्नुपर्छ ? त्यो सच्याउने त कैलाश सिरोहियालाई बोलाएर भनेको भए पनि हुन्थ्यो । उहाँलाई चिठी काटेर बोलाएको भए पनि हुन्थ्यो ।

फेरि, अहिले नागरिकता ऐनमा के व्यवस्था पनि छ भने यदि दुईवटै नागरिकता कसैले लिएको रहेछ भनेपनि पहिलो नागरिकता कायम रहने र दोस्रो नागरिकता लिएवापत १५ हजार रुपैयाँ जरिवाना गर्ने हो । त्यहाँभन्दा त केही छैन । त्यतातिर नलागेर यस्तो काण्ड गर्ने भनेको हामी संविधानभन्दा माथि छौं भन्ने भनाइभन्दा बाहेक छैन ।

अब गृहमन्त्री रवि लामिछानेबारे त धेरै टिप्पणी गर्न चाहन्न । किनभने हामी नेपाली हौं । हाम्रो ज्यान भन्दा पनि हाम्रो सार्वभौम सत्ता प्यारो हो । अब सार्वभौम सत्ता नै त्यागेर अमेरिकी नागरिक भइसक्या मान्छेबाट हामीले के गरी सार्वभौम सत्ताको आश गर्ने ? त्यहाँभन्दा ठूलो के भयो ? उहाँ (रवि लामिछाने)ले दोस्रो नागरिकता लिनुहोला, तेस्रो नागरिकता लिनुहोला छुट्टै हो । तर, नागरिकता त त्यागिसक्नुभएको हो नि ! अमेरिकामा बस्दा अमेरिकन नागरिक, नेपालमा बस्दा नेपाली नागरिक हुन्छ ? अमेरिकाको पासपोर्ट बोकेर नेपाल आउने अनि अहिले ठूलो कुरा गरेर सार्वभौमसत्ता खत्तम । दुर्भाग्य हो देशको कुरामा पनि उहाँकै सत्तामा हामी बस्नुपरेको छ ।

यो सत्ता चलाउन राम्रा मान्छे ल्याउनुपर्छ । नेपाललाई माया गर्ने मान्छे ल्याउनुपर्छ । नेपाली नागरिकता त्यागेर जान्छु भन्ने मान्छेलाई गर्नु हुँदैन भन्ने कुराको सन्देश प्रवाह गर्नुपर्छ । यो घटना जे भएको छ दुःख व्यक्त गर्छु ।

प्रकाशित : जेष्ठ १०, २०८१ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?