कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

स्वतन्त्र प्रेसलाई त्रसित गराउने कदम चालिएपछि अनुगमन गर्न प्रेस काउन्सिलको टोली कान्तिपुर कार्यालयमा

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरी स्वतन्त्र प्रेसलाई त्रसित गराउने कदम चालिएपछि त्यसमा प्रेस काउन्सिल नेपालले चासो दिएको छ । काउन्सिलका अध्यक्ष  बालकृष्ण बस्नेत र मुख्य अधिकृत झविन्द्र भुसाल बिहीबार कान्तिपुर कार्यालय थापाथलीमा आएर समाचार कक्षका पत्रकारहरूसँग मंगलबारको घटना र त्यसले समाचारकक्षलाई पारेको प्रभावबारे अनुमगन गरेका छन् ।

स्वतन्त्र प्रेसलाई त्रसित गराउने कदम चालिएपछि अनुगमन गर्न प्रेस काउन्सिलको टोली कान्तिपुर कार्यालयमा

त्यसक्रममा अध्यक्ष बस्नेतले राज्यले गर्ने कुनै पनि गतिविधिले स्वतन्त्र प्रेसको मुल्य मान्यतालाई खलल पार्ने र समाचार कक्ष त्रसित हुने अवस्था सिर्जना गर्न दिन नहुने धारणा राखेका छन् ।

उनले कान्तिपुरले प्रकाशन गरेका समाचारहरूको आधारमा पूर्वाग्रह र प्रतिशोध साँधेर अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको भन्ने सञ्चार सम्बद्ध संस्थाहरू, सम्पादकहरुले ल्याएको धारणाबारे काउन्सिल जानकार रहेको बताएका छन् ।

नेपालको संविधान र कानुनले दिएको स्वतन्त्र प्रेसको अधिकारका विषयलाई कुण्ठित हुने खालका गतिविधिमा काउन्सिल सँधै सचेत रहँदै आएको उल्लेख गर्दै उनले कुनैपनि घटनाका कारण प्रेसले आफ्नो स्वतन्त्र भूमिका निर्वाह गर्न अप्ठेरो पार्ने अवस्था आउन दिन नहुने अध्यक्ष बस्नेतले धारणा राखे । कुनै पनि समाचारका विषयहरूमा हुने असहमति र त्यसमाथि उजुरी गर्ने ठाउँ काउन्सिल भएको अध्यक्ष बस्नेतले बताए ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले मिडियाको कार्यालयमा गरिएका गतिविधिले त्यहाँको काम गर्ने वातावरणमा कुनै प्रभाव पर्न नहुने बताए । उनले पनि काउन्सिलले अहिलेका घटनाक्रमहरूलाई अनुगमन गरिररहेको जानकारी दिए । त्यही अनुगमनको सिलसिलामा आफूहरु समाचार कक्षमामा पत्रकारहरूसँग छलफल गर्ने आएको जानकारी दिए ।

काउन्सिलको अनुगमनमा टोलीलाई कान्तिपुर दैनिक, इकान्तिपुर, द काठमाण्डु पोस्ट दैनिक र नारी मासिकका सम्पादक र सम्पादकीय सहकर्मीहरुले गत मंगलबार अध्यक्ष सिरोहियालाई कार्यकक्षमा आएर धरपकड गरेको घटना, समाचार कक्ष वरिपरी नै प्रहरी टोली परिचालित हुँदा त्यसले समाचार उत्पादन प्रक्रियामा परेको असर र पत्रकारहरुमा फैलिएको त्रासको वातावरण तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलनबारेका समाचार प्रकाशन गर्ने क्रममा पटक पटक उनले सार्वजनिक मञ्च र संसद्‌बाट समेत दिएका धम्कीबारे अवगत गराएका थिए ।

स्वतन्त्र प्रेसलाई तर्साउने नीति अनुसार नै अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको धारणा राख्दै कान्तिपुरका पत्रकारहरूले प्रेस स्वतन्त्रताको कसीबाट यो घटनालाई सूक्ष्म रुपमा हेरेर धारणा बनाउन काउन्सिलको ध्यानकर्षण गराएका थिए । उक्त ध्यानाकर्षणपछि काउन्सिलको टोलीले यसबारे बैठक बसी संस्थागत रुपमै आफूहरुले पनि केही धारणा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०८१ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?