‘व्यक्तिगत वा राजनीतिक कारणले पत्रकार र सञ्चारकर्मी विरुद्धको अनुसन्धानलाई सूचित गर्न सकिँदैन र अधिकारीहरूले प्रेस स्वतन्त्रताप्रति नेपालको प्रतिबद्धतालाई सुनिश्चित गर्नुपर्दछ ।’
काठमाडौँ — पत्रकारहरुको विश्वको सबैभन्दा ठूलो संगठन इन्टरनेशनल फेडरेशन अफ जर्नालिस्ट (आइएफजे) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी गम्भीर चिन्ताको विषय भएको बताएको छ ।
आईएफजेद्वारा बिहीबार जारी विज्ञप्तिमा छ, ‘गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा लामिछाने (गृहमन्त्री रबि) ले सहकारी कोषमा बचतमा करोडौं नेपाली रुपैयाँ हिनामिना गरेको आरोपको विस्तृत रिपोर्टको श्रृंखलापछि अध्यक्षको गिरफ्तारी भएको हो ।’
व्यक्तिगत वा राजनीतिक कारणले पत्रकार र सञ्चारकर्मी विरुद्धको अनुसन्धानलाई सूचित गर्न सकिँदैन र अधिकारीहरूले प्रेस स्वतन्त्रताप्रति नेपालको प्रतिबद्धतालाई सुनिश्चित गर्नुपर्दछ भन्ने समेत आइएफजेको धारणा छ ।प्रहरीले सिरोहियालाई मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरेको हो । त्यसपछि प्रहरीले उनलाई धनुषा लगेको थियो, जहाँ उनीविरुद्ध उजुरी परेको थियो । उनलाई धनुषा जिल्ला अदालतले बुधबार तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
