सिरोहियाको गिरफ्तारी बदनियतपूर्ण छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

'यो नागरिकताको इस्यू हो, प्रेस स्वतन्त्रतासँग साइनो छैन, उनी त व्यवसायी हुन् उनको मिडियासँग के सरोकार छ ? यस्ता कुराको भ्रमबाट मुक्त हुनु जरुरी छ, यो प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो'

जेष्ठ १०, २०८१

कान्तिपुर संवाददाता

Sirohia's arrest is disgraceful: Senior Advocate Tripathi

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई बदनियतपूर्ण रूपमा पक्राउ गरिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन् । सहकारीको बचत रकम उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपचलन गरेको विषयमा कान्तिपुरले प्रमाणसहित निरन्तर समाचार लेखेपछि सिरोहियाको पक्राउ भएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए ।

नेपाल पत्रकार महासंघ र नेपाल पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखाले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीले नागरिकताको निहुँ देखाएर सिरोहियालाई पक्राउ गरिएपनि राज्यको गुप्त एजेन्डा अर्कै रहेको बताए ।

'कान्तिपुरमा सप्रमाण करौडौं रुपैयाँको अपचलन भएको कुरा आयो, सहकारीले गैर सदस्यलाई कसरी ऋण दिन सक्छ ? एउटा सहकारीले करौडौं रुपैयाँ ऋण असुरक्षित ढंगबाट धितो नराखी कसरी दिन सक्छ ? कानुनी क्षेत्रको सामान्य ज्ञान भएको मान्छेले पनि भन्न सहकारीमा उनीहरूले ठूलो अपचलन गरेका छन् । उहाँ भन्नुहुन्छ एमडी (गोर्खा मिडियाको प्रबन्ध निर्देशक) हुँ, ऋण लिएको थाहा थिएन तर एमडी त्यो कम्पनीको हरेक क्रियाकलापका लागि जिम्मेवार हुन्छ,' वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, 'यो नागरिकताको इस्यु देखाइयो, गुप्त ऐजेन्डा अर्कै छ । नागरिकताको कारण पक्राउ गरिएको भन्ने हो भने २०३६ सालमा लिएको नागरिकताको विषयमा अहिलेसम्म किन छनबिन भएन ? किन कारबाही भएन ? जब गृहमन्त्री रवि लामिछानेमाथि शृंखलाबद्ध समाचार आयो अनि गिरफ्तार भयो । यसमा बदनियत छैन, यो स्वच्छ कारबाही हो भन्न मिल्दैन ।'

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई गैरकानुनी रूपमा गिरफ्तार गरिएको त्रिपाठीको भनाइ छ । गिरफ्तारी अन्तिम विकल्प रहेको कुरा सर्वोच्च अदालतले पनि बोलेको त्रिपाठीले स्मरण गराए । भागेर जाने वा प्रमाणसँग छेडछाड गर्ने अवस्था छैन भने पक्राउ नगरी अनुसन्धान गर्नुपर्ने सर्वोच्चले बोलेको उनले बताए । 'त्यो कागजात त प्रशासन कार्यालय वा अनुसन्धान अधिकृतसँग छ । भनेपछि गिरफ्तारीको आधार बन्न सक्छ ? त्यसैले सिरोहियाको गिरफ्तारी बदनियतपूर्ण छ, प्रेस स्वतन्त्रताको विरुद्धमा छ,' उनले भने ।

सिरोहियाको पक्राउ नागरिकताको मुद्दासँग मात्रै जोडिएको हो र प्रेस स्वतन्त्रतासँग छैन भन्ने भ्रमबाट मुक्त हुनुपर्ने त्रिपाठीको भनाइ छ । 'यो नागरिकताको इस्यू हो, प्रेस स्वतन्त्रतासँग साइनो छैन, उनी त व्यवसायी हुन् उनको मिडियासँग के सरोकार छ ? यस्ता कुराको भ्रमबाट मुक्त हुनु जरुरी छ । यो प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो,' उनले भने ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई नागरिकता दिने प्रमुख जिल्ला अधिकारी र अन्य सरकारी कर्मचारीमाथि कारबाहीको कुरा किन निस्किएको छैन भन्ने कुरा पनि बुझ्नुपर्ने बताए । 'नागरिकता सिफारिस गर्ने व्यक्तिलाई खै कारबाही गरेको ? यो मुद्दामा कैलाश सिरोहियालाई मात्रै किन ? त्यो बेलाको प्रमुख जिल्ला अधिकारीको नाम आयो ? फलानो अधिकारी र सुब्बाले सिफारिस गरेको र छाप लगाएको थियो भन्ने खै आएको ? उनीहरूलाई पक्राउ पूर्जी जारी गरिएको छ ?,' उनले भने, 'उनीहरूलाई पक्राउ पूर्जी जारी गरिएको छैन भने एउटा व्यक्तिलाई मात्रै टार्गेट गरिएको छ, यो बदनियतपूर्ण पक्राउ हो ।'

कान्तिपुर

Link copied successfully