नेपाल पत्रकार महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले सहकारीको बचत अपचलन गरेको विषयमा प्रमाणसहित निरन्तर समाचार लेखेपछि कान्तिपुर अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको दाबी गरेका छन्
काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बदनियतपूर्ण रूपमा पक्राउ गरिएको कानुन व्यवसायी तथा पत्रकारहरूले ठहर गरेका छन् । नेपाल पत्रकार महासंघ र नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठानले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले सहकारीको बचत रकम उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपचलन गरेको विषयमा कान्तिपुरले प्रमाणसहित निरन्तर समाचार लेखेपछि सिरोहियालाई पक्राउ गरिएको बताएका हुन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नागरिकताको निहुँ देखाएर सिरोहियालाई पक्राउ गरिए पनि राज्यको गुप्त एजेन्डा अर्कै रहेको बताए । ‘२०३६ सालमा लिएको नागरिकताका विषयमा अहिलेसम्म किन छानबिन भएन ? किन कारबाही भएन ? जब गृहमन्त्री रवि लामिछानेविरुद्ध शृंखलाबद्ध समाचार आयो अनि गिरफ्तार गरियो,’ उनले भने, ‘यसमा बदनियत छैन, यो स्वच्छ कारबाही हो भन्नै मिल्दैन ।’ भागेर जाने वा प्रमाणसँग छेडछाड गर्ने अवस्था छैन भने पक्राउ नगरी अनुसन्धान गर्नुपर्ने सर्वोच्चले नै निर्णय गरेको पनि उनले बताए ।
अध्यक्ष सिरोहियालाई नागरिकता दिने प्रमुख जिल्ला अधिकारी र अन्य सरकारी कर्मचारीमाथि कारबाहीको कुरा किन निस्किएको छैन भन्ने कुरा पनि बुझ्नुपर्ने रहेको उनले बताए ।
‘नागरिकता सिफारिस गर्ने व्यक्तिलाई खोइ अनुसन्धानको दायरामा ल्याएको ? यो मुद्दामा कैलाश सिरोहियालाई मात्रै किन ? त्यस बेलाका प्रमुख जिल्ला अधिकारीको नाम आयो ? फलानो अधिकारी र सुब्बाले सिफारिस गरेको र छाप लगाएको थियो भन्ने खोइ आएको ? उनीहरूलाई पक्राउ पुर्जी जारी गरिएको छ ?’ उनले भने, ‘उनीहरूलाई पक्राउ पुर्जी जारी गरिएको छैन भने एउटा व्यक्तिलाई मात्रै टार्गेट गरिएको छ, त्यसैले पनि यो बदनियतपूर्ण पक्राउ हो ।’
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले सरकारी अधिकारीले गरेको कमजोरीमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको बताए । अन्तरक्रिया कार्यक्रममा खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री लामिछानेले संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर कार्य गरिरहेको पनि दाबी गरे । सिरोहियालाई पक्राउ गरेको घटनाले प्रधानमन्त्री र गृहमन्त्री संविधानको व्यवस्थाभन्दा माथि रहेको आशंका जन्माएको उनको भनाइ थियो ।
‘हामी संवैधानिक सर्वोच्चतामा छौं । संविधान मान्छौं । संविधानभन्दा ठूलो कोही पनि छैन भन्ने मान्यता राख्छौं । हामीकहाँ लिखित संविधान छ र संविधानमाथि कोही पनि छैन भन्ने कुराको मान्यता हो । गृहमन्त्री अथवा प्रधानमन्त्री संविधानभन्दा माथि हुन्छन् र ?,’ वरिष्ठ अधिवक्ता खड्काले भने, ‘दुई नागरिकतामा एउटै नम्बर लेख्ने काम सिरोहियाले गरेका हुन् ? त्यो नम्बर लेख्ने त सरकारी अधिकारीले हो । जो मान्छेले दिएको छ, पहिला दिने मान्छेको नम्बर पनि त्यही मान्छेले लेख्या हो, दोस्रो नम्बर पनि त्यही मान्छेले लेखेको हो । नागरिकता नम्बर सच्याउने कुराका लागि यत्रो बबन्डर गर्नुपर्छ र ?’
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुरले प्रकाशित गरेको समाचार सामग्रीकै कारण अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रूपमा पक्राउ गरिएको हो भन्ने महासंघको प्रारम्भिक निष्कर्ष रहेको बताए ।
प्रहरी सिरोहियाको कार्यकक्षमै प्रवेश गरेर उनलाई पक्राउ गरेको घटनाको आफूहरू पनि साक्षी रहेको बताउँदै यसलाई सामान्य मान्न नसकिने उनले सुनाए । ‘महासंघ प्रारम्भिक रूपमा समाचार सामग्री छापिएको विषयसँग नै सम्बन्धित भएर गरिएको पक्राउ हो भन्ने निष्कर्षमा पुगेको छ,’ उनले भने, ‘यसमा अन्य सरोकारवाला पक्षको भनाइ के हो भन्ने थाहा पाउनका लागि नै हामीले अन्तरक्रिया आयोजना गरेका हौं ।’
अन्तरक्रिया कार्यक्रममा आफ्ना भनाइ राख्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ गर्नु नियोजित र प्रतिशोधपूर्ण भएकामा दुईमत नरहेको बताए । ‘अपराध नै गरेको भए पनि त्यसमा छानबिन गर्ने कानुनी आधार होलान् । तर, अहिले जुन प्रसंग चलिरहेको छ, त्यसमा जसरी पक्राउ गरियो, त्यो नितान्त राज्य शक्तिको दुरुपयोग हो,’ उनले भने, ‘देशको गृहमन्त्रीले गरेको करोडौं रकमको अपचलनको समाचार प्रकाशित गरेकै कारण आतंक सिर्जना गर्ने प्रपञ्च हो ।’
आफैं विभिन्न फौजदारी कसुरको आरोपी रहेका गृहमन्त्रीले आतंक सिर्जना गर्नका लागि चलाएको प्रोपोगन्डालाई सामान्य मान्न नसकिने उनको तर्क थियो । गृह मन्त्रालयले अहिलेसम्म नागरिकतामा कैफियत देखिएका कति जनालाई हिरासतमा लिएर अनुसन्धान गरेको छ भन्ने विषयमा पनि समाचार सम्प्रेषण गर्नुपर्ने बेला आएको उनले बताए ।
यस्तै वरिष्ठ पत्रकार एवं हिमालय टाइम्सका प्रधानसम्पादक पुरुषोत्तम दाहालले केएमजीका अध्यक्ष सिरोहिया पत्रकार होइनन् भनेर बहस चलाइएको बताउँदै सञ्चार उद्यमी र पत्रकारबीचको सम्बन्धका बारेमा सबैलाई स्पष्ट पार्नुपर्ने समय आएको बताए ।
‘सिरोहियाजीलाई जुन आरोप लगाइएको छ, त्यो उहाँको व्यक्तिगत विषय हो । तर, जुन आरोप लगाएर जुन अवस्थामा पक्राउ गरियो, त्यो सबैभन्दा निन्दनीय विषय हो,’ उनले भने, ‘उहाँको नागरिकताका विषयमा धेरै पहिला नै प्रश्न उठे पनि हाल आएर पक्राउ गर्नुपर्ने अवस्था थिएन । त्यो भनेको सबै सञ्चारमाध्यम र त्यहाँ काम गर्नेलाई आतंकित बनाउने कार्य हो ।’
गृहमन्त्री लामिछानेले संसद्को रोस्ट्रमबाटै आफ्ना विपक्षीलगायत आफ्नो विरोध गर्ने सबैलाई धम्क्याउने र ब्ल्याकमेलिङ गर्ने काम भइरहेकाले त्यसबारे थप रिपोर्टिङ गर्न आवश्यक रहेको उनले बताए । ‘एकातर्फ गृहमन्त्रीले ब्ल्याकमेलिङ गर्ने र अर्कोतर्फ प्रधानमन्त्रीले उहाँ निर्दोष हुनुहुन्छ, छुट्नुहुन्छ पनि भन्ने । यो निकै भयानक अवस्था हो,’ उनले भने, ‘यदि प्रधानमन्त्रीलाई कैलाशजी निर्दोष हुनुहुन्छ, छुट्नुहुन्छ जस्तो लागेको छ भने किन थुनेको ? यदि होइन भने उहाँ न्यायाधीश हो र यो भन्नका लागि ?’
यस्तै, कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवा तथा प्राध्यापक कपिल श्रेष्ठले नेपालले एसियामा सबैभन्दा धेरै मानवअधिकारसँग सम्बन्धित सन्धि–महासन्धिमा हस्ताक्षर गरे पनि यहाँ स्वतन्त्रताको प्रत्याभूति भने नभएको बताए । प्रेसले गर्दा नै नेपालका नागरिक सचेत र सजग भएको र सरकार जिम्मेवार हुन बाध्य भएको उनले बताए ।
‘राजनीतिक दल र कार्यकर्ताले प्रजातन्त्रको के दुर्गति गर्छन् भन्ने त देखियो नि,’ उनले भने, ‘मैले पञ्चायतकालदेखिको प्रेस देखेको छु । के हामीले पञ्चायतकालको गोरखापत्र र राइजिङ नेपाल बनाउन खोजेको हो ? कि पुष्पकमल दाहाल र रवि लामिछानेलाई स्तुतिगान नपुगेको दुखेसो हो ? यो हुँदैन ।’
प्राध्यापक श्रेष्ठले अहिले नै सरकारले देखाएको अधिनायकवादी चरित्रको खुलेर विरोध नगरेमा यो मानसिकता बढ्दै जानेतर्फ पनि सबै सचेत हुनुपर्ने बताए । ‘हामीले यो अप्रजातान्त्रिक प्रवृत्तिको जमेर विरोध गर्नुपर्छ । नत्र उनीहरूको हौसला बढ्छ,’ उनले भने, ‘हामीले बन्द कोठामा बहस गर्ने मात्रै होइन, सडकमा ओर्लिएर विरोध गर्न लजाउनु हुँदैन । प्रेस र नागरिक समाजका मान्छे डराउनु हुँदैन । हामीले राजालाई फालेर सीडीओ र कर्मचारीले जे भन्छन्, त्यो मान्नका लागि लोकतन्त्र ल्याएको होइन ।’
कार्यक्रममा बोल्दै अधिवक्ता राधिका खतिवडाले गृहमन्त्रीले आफ्ना तमाम विवाद र आरोपलाई अन्यत्र मोड्नका लागि सिरोहियालाई पक्राउ गरेर ध्यान मोड्न खोजेको बताइन् । गृहमन्त्री लामिछानेले नियुक्त भएको पहिलो दिनदेखिको अभिव्यक्ति सुन्दा उनी सबैलाई धम्क्याउनेतर्फ उद्यत रहेको तर फौजदारी कानुनको सामान्य ज्ञानसमेत नरहेको देखिएको उनले बताइन् ।
‘उहाँले पहिलो दिनदेखि नै फाइल खोल्ने, फाइल खोल्ने भन्दै आउनुभएको छ । तर, कुन फाइल कस्तो अवस्थामा कसरी खुल्छ भन्ने सामान्य ज्ञान पनि उहाँलाई छैन भन्ने देखिएको छ,’ उनले भनिन्, ‘किनभने फौजदारी कानुनको प्रयोग राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता छन् । त्यसको सामान्य प्रयोगका बारेमा पनि उहाँलाई ज्ञान छैन । मान्छे छानीछानी मुद्दा चलाउने प्रवृत्ति नै गलत छ ।’
उनले पूर्वाग्रही रूपमा नै उजुरी दिन लगाउनेदेखि अनुसन्धान गरेर मुद्दा चलाउनेसम्मको कार्य राज्यका निकायबाट भइरहेकाले त्यो गलत भएको पनि बताइन् । ‘अहिले पनि तँलाई देखाइदिन्छु भन्ने मानसिकताले प्रेरित भएर नै मुद्दा चलाउन खोजिएको हो भन्ने स्पष्ट देखिएको छ,’ उनले भनिन्, ‘मिडियामाथि मात्रै होइन, राज्यलाई मुद्दा चलाउन मन लागे त जसका विरुद्धमा चलाए पनि हुन्छ । तर, त्यो सही होइन ।’
उपप्राध्यापक तथा पत्रकार जगत नेपालले अहिले सत्तामा रहेकाहरूले शक्तिको दुरुपयोग गरिरहेको अवस्थामा त्यसलाई रोक्नका लागि पनि समाचार सम्प्रेषण गर्न आवश्यक रहेको बताए । ‘मलाई याद छ, गिरिजाबाबुले कृष्ण सिटौलालाई गृहमन्त्री बनाएपछि भन्नुभएको थियो– मैले तपाईंलाई गृहमन्त्री बनाएँ । तर, एउटा कुरा याद राख्नुस्, तपाईंले पावरको जति कम प्रयोग गर्नु हुन्छ, त्यति नै सफल हुनुहुनेछ,’ उनले भने ।
अधिवक्ता सेमन्त दाहालले मिडिया व्यवसायी र पत्रकार फरक–फरक भएकाले व्यवसायीमाथिको आक्रमण पत्रकारितामाथिको आक्रमण होइन भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यो ठीक नभएको बताए ।‘हामीले दक्षिण फर्किएर हेर्यौं भने पनि हुन्छ । किनभने, त्यहाँ पत्रकार धेरै परिवर्तन भएका छैनन् । तर मिडिया सञ्चालक परिवर्तन भएका छन् । त्यो हुँदा मिडियाको हालत कस्तो हुँदो रहेछ भन्ने छनक पाउँछौं । त्यसैले मिडिया व्यवसायीमाथिको आक्रमण पनि पत्रकारितामाथिकै संकुचन हो,’ उनले भने । गृहमन्त्री लामिछानेको प्रवृत्ति मात्रै खराब नभएर राष्ट्रिय स्वतन्त्र पार्टीले निकालेको विज्ञप्तिबाट पनि सशंकित हुनुपर्ने अवस्था देखिएको उनले बताए ।
‘सो पार्टीले निकालेको विज्ञप्तिमा सिरोहियामाथि नागरिकता किर्तेको गम्भीर अभियोग भनेर भनेको छ । अहिले अनुसन्धानको चरणमा रहेको विषयलाई गृहमन्त्रीको पार्टीले अभियोग भन्छ भने त्यसलाई सामान्य मान्न सकिन्न,’ उनले भने, ‘अनुसन्धाकै चरणमा भएको विषयलाई उहाँहरूले अभियोजनको चरणमा पुर्याइसक्नुभएको छ । त्यसकारणले पनि यो आवेशकै परिणाम हो भन्न सकिन्छ ।’
