स्वतन्त्र प्रेसप्रतिको प्रतिबद्धतामा अडिग रहन सरकारलाई एसपीजेको आग्रह

जेष्ठ १०, २०८१

कान्तिपुर संवाददाता

SPJ urges the government to stick to its commitment to a free press

काठमाडौँ — अमेरिकी पेशागत पत्रकारहरूको संगठन ‘सोसाइटी अफ् प्रोफेसनल जर्नालिस्ट्स’(एसपीजे) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सरकारले निष्पक्ष रूपमा छानबिन गर्ने आशा गरेको जनाएको छ ।

एसपीजेकी अध्यक्ष असान्टी ब्लेज हप्किन्सले एक वक्तव्य जारी गर्दै अध्यक्ष सिरोहियालाई रिहा गर्न माग गर्दै स्वतन्त्र र निर्बाध प्रेसप्रतिको प्रतिबद्धतामा सरकारलाई अडिग रहन आग्रह गरेकी छिन् । 

अध्यक्ष हप्किन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपालको अग्रणी दैनिक अखबार कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई गृहमन्त्रीको निर्देशनमा पक्राउ गरिएको भन्ने हामीले भर्खरै थाहा पायौँ । वास्तवमा शृंखलाबद्ध रूपमा अनुसन्धान हुनुपर्ने त गृहमन्त्रीमाथि नै हो ।'

प्रहरीले नागरिकतासम्बन्धी छानबिन भने पनि सिरोहियालाई वास्तविक उद्धेश्य के हो भन्नेमा नेपाल पत्रकार महासंघसँगे आफूहरूको पनि प्रश्न रहेको अध्यक्ष हप्किन्सले बताएकी छिन् । त्यस्तै प्रतिशोधपूर्ण तरिकाले सिरोहियालाई पक्राउ गरेर सम्पूर्ण प्रेस जगत्‌लाई तर्साउन खोजिएको हो कि भन्ने आशंका पनि उब्जिएको एसपीजेको वक्तव्यमा उल्लेख छ। 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो । बुधबार जिल्ला अदालत धनुषाले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद दिएको छ। 

स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कान्तिपुर कार्यालय परिसरमा पत्रकार महासंघ, मिडिया सोसाइटी, कानुन व्यवसायी, नागरिक अगुवा, सांसदहरू, विभिन्न मिडिया प्रकाशक तथा पत्रकारहरूको उपस्थितिका बीचमा बर्दीधारी प्रहरीले सिरोहियालाई लगेका हुन् ।

सम्बन्धित समाचार

प्रेसविरुद्ध राज्य प्रतिशोध

कान्तिपुर

Link copied successfully