वैशाख १२ देखि दुईदिने नेपाल भ्रमणमा आउँदै कतारी अमिर अलथानी

वैशाख ५, २०८१

होम कार्की

Qatari Amir Althani is coming on a two-day visit to Nepal from May 12

काठमाडौँ — नेपालले कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल–थानीको भ्रमणमा नयाँ श्रम सम्झौता गर्न कतारसँग प्रस्ताव राखेको छ । उनी वैशाख १२–१३ मा नेपाल भ्रमणमा आउन लागेका हुन् । श्रम मन्त्रालयका अनुसार सम्झौताका लागि आवश्यक तयारी पूरा भइसकेको छ । 

कतारी अमिरबाट पहिलो पटक नेपाल भ्रमण हुन लागेको हो । यसअघि गत कात्तिक २०–२१ मा उनी आउने तय भए पनि इजरायल–हमास युद्धका कारण अन्तिम समयमा स्थगित भएको थियो । परराष्ट्र मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरिसकेको छैन । नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपालका लागि कतारी राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीसँग श्रम सम्झौता गर्न नेपाल तयार रहेको सन्देश दिएका छन् । सोमबार मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले १९ वर्ष अगाडि भएको श्रम सम्झौता परिमार्जन गर्न आवश्यक रहेको बताए । ‘धेरै वस्तुस्थिति बदलिइसकेको छ । अहिलेको परिवेशअनुसार सम्झौता गर्न आवश्यक देखिएको छ,’ श्रम प्रवक्ता गोविन्द रिजालले कान्तिपुरसँग भने, ‘यही विषय श्रममन्त्रीले राजदूतसमक्ष प्रस्ताव गर्नुभयो ।’ 

नेपालले सन् २०१७ देखि नै श्रम सम्झौता परिमार्जन गर्न चाहेको हो । यसका लागि दुई देशका उच्च श्रम अधिकारीबीच पटकपटक संयुक्त प्राविधिक समितिको बैठकसमेत बसिसकेको छ । कतारले पछिल्लो समय कफला प्रणाली (स्पोन्सरसिप सिस्टम) लाई सुधार गरी श्रम बजारको नीतिनियम लचिलो बनाएको छ । आप्रवासी कामदारले कतार छोड्न चाहिने ख्रुज (एक्जिट परमिट) हटाइसकेको छ । कतारमा ३ लाख ६७ हजार ३ सय ८९ नेपाली श्रमिक छन्, जसमध्ये पुरुषको संख्या ३ लाख ५१ हजार ८ सय ३४ छ भने महिला १५ हजार ५ सय ५५ छन् ।

श्रम प्रवक्ता रिजालले अमिरको भ्रमणमा श्रम सम्झौता टुंग्याउन चाहेको बताए । ‘हामी अहिले छलफलमा छौं । तर सम्झौतामा हस्ताक्षर हुने निर्णयमा पुगिसकेको छैनौं,’ रिजालले भने । नयाँ श्रम सम्झौताको मस्यौदामा परराष्ट्र, अर्थ र कानुन मन्त्रालयले सुझाव दिइसकेका छन् । नेपालले ती सुझाव कतार सरकारलाई पठाइसकेको छ । 

कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले श्रम सम्झौता गर्न कतार सकारात्मक रहेको बताए । ‘नेपालका लागि कतार प्रमुख गन्तव्य देश हो । यो भ्रमणमा श्रम सम्झौता गर्न दुवै पक्ष सकारात्मक छ । तर, हामीसँग समय निकै कम छ,’ उनले भने, ‘यदि यही भ्रमणमा भएन भने यथाशक्य छिटो गर्न बाटो खुल्नेछ ।’ 

राजदूतसँगको भेटमा श्रममन्त्री अर्यालले सीपयुक्त जनशक्ति उत्पादनको विकासमा कतारको सहयोगको अपेक्षा राखेका छन् । ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन चाहन्छौं । त्यसैले श्रमिकको सीप विकासमा तपार्इंहरूको सहयोग अपेक्षा गर्छौं,’ मन्त्रीले कतारी राजदूतसमक्ष भने । उनले कतारमा कार्यरत नेपाली श्रमिकलाई अन्य श्रमिकसरह नै व्यवहार गर्नेमा आफू ढुक्क रहेको पनि बताए । ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रम अभ्यास गरेको छ, जुन प्रशंसनीय छ,’ उनले भने । कतारी राजदूत अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताउँदै नेपाली श्रमिकको सीप विकास लागि कतार सहयोग गर्न सधैं तयार रहेको बताए ।

कतारका अमिरको नेपाल भ्रमण

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully