उपप्रमुखलाई कार्यकारी अधिकार नहुनु चुनौती हो : उपमेयर डंगोल

‘मेयर र उपमेयर दुवै जनताले भोटबाट नै निर्वाचित भएर आउने हो । उपप्रमुखलाई कार्यकारी अधिकार नहुनु भनेको चुनौती पनि हो ।’

चैत्र २९, २०८०

कान्तिपुर संवाददाता

The challenge is that the deputy chief does not have executive authority: Deputy Mayor Dangol

काठमाडौँ — काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेतृत्व लैगिंकतासँग नभई व्यक्तिको क्षमता र सिद्धान्तअनुसार फरक हुने बताएकी छिन् । कान्तिपुर पब्लिकेसन्स् लिमिटेडद्वारा बिहीबार काठमाडौंमा आयोजित 'निर्भिक नारी'को पहिलो सत्र ‘नेतृत्वमा नारीः परम्परालाई भारी ?’ मा बोल्दै उनले नेतृत्व लैंगिकतासँग नजोडिने बताएकी हुन् ।

‘हरेक व्यक्तिको क्षमता र सिद्धान्तअनुसार नेतृत्व फरक हुन्छ । तर महिला आउनेबित्तिकै यो हुन्छ । पुरुष आउनेबित्तिकै यो हुन्छ भन्ने हुँदैन,’ उनले भनिन्, ‘ महिला नेतृत्वमा आउँदा के फरक हुँदो रहेछ भन्ने विषयमा अध्ययन अनुसन्धान पनि गरिएको हुन्छ ।’ अध्ययन तथा अनुसन्धानमा महिलाहरूले मनले सोच्ने र प्रतिबद्धता बढी गर्ने देखाएको उनले जनाइन् । महिलामा सुक्ष्म व्यवस्थापन क्षमता बढी हुनेसमेत उनको भनाइ छ ।

संविधानले नै स्थानीय तहको प्रमुख र उपप्रमुखको जिम्मेवारी, अधिकार छुट्याइएको भन्दै उनले कार्यकारी अधिकार भने मेयरलाई मात्र दिइएकोमा गुनासो गरिन् । निर्वाचित भएर आएका उपप्रमुख कार्यकारी अधिकारबाट वञ्चित हुनुचाहिँ विडम्बना रहेको उनले बताइन् । ‘संविधानले अधिकार र जिम्मेवारी तोकेको छ । यद्यपि मेयर र उपमेयर दुवै जनताले भोट दिएर नै निर्वाचित भएर आउने हो,’ उनले भनिन्, ‘उपप्रमुखलाई कार्यकारी अधिकार नहुनु भनेको चुनौती पनि हो ।’

यद्यपि संविधानले स्थानीय सरकारमा न्याय, अनुगमन, बजेट तर्जुमा, राजस्वलगायतको महत्त्वपूर्ण जिम्मेवारी उपप्रमुखलाई नै दिइएको उनले बताइन् । संविधानको सिद्धान्तअनुसार समन्वय,सहकार्य र सहअस्तित्वमा बसेर काम गरेको खण्डमा देशभरका स्थानीय तहले काम गर्न सक्ने र घरघरमा विकासको अनुभूति दिलाउन सकिने उनले बताइन् । 

कान्तिपुर

Link copied successfully