रुस-युक्रेन युद्धमा थप ७ नेपालीको मृत्यु

नेपालद्वारा रुसलाई तेस्रो पटक कूटनीतिक नोट

चैत्र २, २०८०

होम कार्की, जगदीश्वर पाण्डे

7 more Nepalis died in Russia-Ukraine war

काठमाडौँ — गैरकानुनी रूपमा रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्धमा सहभागी भई परिवारसँग सम्पर्कविहीन रहेकामध्ये थप ७ नेपालीको मृत्यु भएको छ । हालसम्म रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या थप ७ सहित १७ पुगेको परराष्ट्र मन्त्रालयले बिहीबार पुष्टि गरेको हो । मन्त्रालयका अनुसार परिवारसँग सम्पर्कविहीनको संख्या कम्तीमा ९६ रहेको छ ।

रुस सरकारले मृत्यु प्रमाणपत्र उपलब्ध गराएका आधारमा परराष्ट्रले मृत्यु भएका नेपालीको पहिचान सार्वजनिक गरेको हो । बिहीबार मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार थप मृत्यु भएकामा धादिङ गंगाजमुना–३ का पूर्णबहादुर गुरुङ, जाजरकोट शिवालय–५ का नवीन शाही, उदयपुर चौदण्डीगढी–३ का पदमबहादुर घिमिरे, झापाको बिर्तामोड–५, गोलधापका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँके बैजनाथ–७ का सञ्जय केसी र रसुवा गोसाइँकुण्ड–५ का सुन्दर मोक्तान रहेका छन् ।

परराष्ट्रले बिहीबार पुष्टि गरे पनि धेरैजसोको परिवारले प्राप्त सूचनाका आधारमा पहिले नै काजकिरिया गरिसकेका छन् । धादिङका पूर्णबहादुरका परिवारले पुस पहिलो साता काजकिरिया गरेका थिए । युक्रेनको जापरियामा खटिइएका पूर्णबहादुरको मंसिर १८ मा भएको मृत्युको खबर तीन दिनपछि नै पाएको सहोदर दाइ श्यामबहादुरले कान्तिपुरलाई बताए । एकमहिने आधारभूत तालिम लिएर रुस–युक्रेन युद्धमैदानमा प्रवेश गरेको पहिलो दिनमै पूर्णबहादुर माइन विस्फोटमा परेका थिए । 

रुस-युक्रेन युद्ध नेपाललाई महँगो : कम्तीमा ९६ नेपाली सम्पर्कविहीन

युद्धमैदानबाट फर्केका उनका साथीले मंसिर २२ मा पूर्णबहादुरका साइँला दाजु श्यामबहादुरलाई पूर्णबहादुरको क्षतविच्छेद शरीरको भिडियो पठाइदिएका थिए । ‘भाइ युक्रेनमा माइनमा परेर ज्यान गुमाएको भिडियो पायौं, त्यो निकै दर्दनाक थियो,’ श्यामबहादुरले भने, ‘मैले भाइको अनुहार प्रस्टसँग चिन्न सकेँ । शव आउँछजस्तो लागेन, त्यसैले तस्बिर राखेर दाहसंस्कार गर्‍यौँ ।’ पूर्णबहादुर ८ लाख रुपैयाँ तिरेर अष्टमीको भोलिपल्ट रुसी सेनामा भर्ती हुन पुगेका थिए ।

यसअघि परराष्ट्रले १० नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो । जसमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, स्याङ्जा, पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र दार्चुलाका कुन्दन सिंह नागल छन् । 

पुष्टि भएका १७ मृतकमध्ये मृत्यु भएको पाँच महिनापछि पोखराका २६ वर्षीय देवान राईको मात्र नेपाली दूतावासको रोहबरमा रुसी सेनाले सम्मानका साथ मस्कोमा अन्त्येष्टि गरिएको थियो । पीडित परिवारका अनुसार अहिलेसम्म क्षतिपूर्ति प्रक्रिया अघि बढेको छैन ।

रुसी सेनामा भर्ना भएका नेपालीको स्वदेश फिर्ता र उद्धार समयमै हुन नसक्दा बेपत्ता हुने र मृत्यु हुने संख्या बढिरहेको छ । सरकारले रुसी पक्षसँग नियमित संवाद जारी राखे पनि नेपालीलाई रुसी सेनासँग गरिएको करार रद्द गर्न सकेको छैन । 

रुसी सेनामा भर्ती भएकाहरूको जीवन सुरक्षाका लागि सचेतना अभियानकी संयोजक कृति भण्डारीले युद्धमा कुनै साइनो सम्बन्ध नभएको नेपालका नागरिकले अनाहकमा मृत्युवरण गर्नॅपर्ने अवस्था बनिरहेको बताइन् । ‘जब रुस–युक्रेन युद्धसम्बन्धी गहिरो सूचना प्राप्त भयो । त्यसपछि सेनामा भर्ती भएका परिवारहरू जीवन रक्षाका लागि सिंहदरबार धाइरहेका छन् । उनीहरूले उद्धार गर्न अपिल गरिरहेका छन्,’ उनले भनिन्, ‘बाँचेकाहरू चाहेर पनि स्वदेश फर्कन पाइरहेका छैनन्, उनीहरू जबरजस्ती युद्धमा होमिन बाध्य छन् ।’ 

उनले जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति दिन पनि ढिलाइ भइरहेको बताइन् । ‘रुसी सेनामा रहेका नेपाली नागरिकको सकुशल घर फिर्ताका लागि वातावरण निर्माण गर्नुपर्छ,’ उनले भनिन् । अभियानमा ५ सय ३१ पीडित परिवार जोडिएको भण्डारीले बताइन् ।

परराष्ट्रण्मन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको दाबी गरे । सरकारले तेस्रो पटक रुसलाई कूटनीति नोट पठाएको छ । कूटनीतिक नोटको जवाफ नदिएको रुसलाई नेपालले फेरि रुसी सेनामा भर्ती भएका नेपालीको अवस्था, क्षतिपूर्ति र उनीहरूलाई फिर्ता ल्याउने सन्दर्भ उल्लेख गर्दै पत्राचार गरेको हो । 

मन्त्री श्रेष्ठले मंगलबार बेलुकी नेपालस्थित रुसी राजदूत एलेक्सेई नोभिकोभलाई मन्त्रालयमा बोलाएर अहिलेको परिस्थितिमा नेपाल वा रुसबाट उच्च तहको भ्रमण आवश्यक रहेको बताएका थिए । ‘नेपालीको अवस्था बुझ्न र उनीहरूलाई उद्धार गर्नका लागि दुई मुलुकबीच उच्च तहमा छलफल र संवाद आवश्यक छ । त्यसैले राजदूतज्यूलाई कि तपाईंहरूका तर्फबाट उच्च तहको भ्रमण हुनुपर्‍यो कि नेपालबाट रुसमा उच्च तहको भ्रमण हुनुपर्‍यो भन्ने कुरा राखेको छु,’ उनले भने ।

मन्त्री श्रेष्ठले फागुन २४ मा रुसी विदेशमन्त्री सर्गेर्ई लाभ्रोभसँग फोन संवाद गरेका थिए । रुसी सेनामा भर्ती भएका नेपालीको अवस्था बुझ्न नेपालले लगातार प्रयास गरेपछि रुसी विदेशमन्त्री लाभ्रोभ र उपप्रधानमन्त्री श्रेष्ठबीच फोनवार्ता सम्भव भएको थियो । वार्तामा रुसीसेनामा भर्ती भएका नेपालीको संख्या उपलब्ध गराउन, लडाइँका क्रममा ज्यान गुमाएकाको शव नेपाल ल्याइदिन, क्षतिपूर्ति दिन र नेपालीलाई रुसी सेनामा भर्ती नलिन तथा भर्ती भएकालाई फिर्ता पठाइदिन श्रेष्ठले आग्रह गरेका थिए । तर रुसी विदेशमन्त्रीले युद्धका क्रममा मारिएकाका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भए पनि अन्य विषयमा भने चर्चा गर्न चाहेनन् ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully