रुस-युक्रेन युद्ध नेपाललाई महँगो : कम्तीमा ९६ नेपाली सम्पर्कविहीन

१३ नेपाली घाइते अवस्थामा उतै छन् भने ८८ जनाले उद्धारका लागि परिवारमार्फत गुहार मागिरहेका छन्,  युक्रेनी सेनाको नियन्त्रणमा सात जना छन् भने १४ जनाको मृत्युको पुष्टि भएको छ 

फाल्गुन २९, २०८०

होम कार्की, जगदीश्वर पाण्डे

Russia-Ukraine war is expensive for Nepal: At least 96 Nepalis are without contact

काठमाडौँ — दाङका सञ्जय बुढामगर,ओखलढुंगाका राम खत्री,इलामका सन्तोष केरुङ रगोरखाका कुमार श्रेष्ठ ।रुसी सेनामा भर्ती भएका यी युवाले उद्धारका लागि दुई महिनादेखि नेपाल सरकारसँग गुहार माग्दा सहयोग नपाएको गुनासो गरेका छन् । ३० को समूहमा अब पाँच जना मात्रै बाँकी रहेको उनीहरूको भनाइ छ । तर दूरदराजबाट याचना गर्ने यी युवा मात्र होइन, परराष्ट्र मन्त्रालय नै धाएर परिवारजनले ताकेता गर्दा पनि नेपाल सरकारले उद्धारमा अर्थपूर्ण पहल गरेको छैन ।

यता, परराष्ट्र मन्त्रालयस्थित कन्सुलर विभागमा उपस्थित भएर परिवारले दिएको विवरणअनुसार ९७ जना सम्पर्कविहीन छन् । त्यसैगरी सरकारले संकलन गरेको तथ्यांकअनुसार १३ जना नेपाली घाइते अवस्थामा उतै छन् भने ८८ जनाले उद्धारका लागि परिवारमार्फत गुहार मागेका छन् । युक्रेनी सेनाको नियन्त्रणमा सात जना छन् । त्यस्तै अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै परिवारले क्षतिपूर्तिका लागि सरकारलाई निवेदन दिएका छन् । मृतकका परिवारलाई क्षतिपूर्तिका विषयमा रुससँग सामान्य समझदारी भए पनि जीवित युवाको उद्धारको पहलले कुनै आकार लिएको छैन ।

नेपाल सरकारबाट कुनै सहयोग नपाएको भन्दै चार युवाले भारत सरकारलाई सम्बोधन गरेर सन्देश जारी गरेका छन् । ‘हामीसँगै तीन जना भारतीय पनि थिए, तर उनीहरूलाई भारतले फिर्ता लग्यो । तर हाम्रो नेपाली दूतावासले हामीलाई केही पनि सहयोग गरेन, नेपालबाट केही पनि भइरहेको छैन, त्यसैले पनि हामी छिमेकी भारतसँग मद्दत माग्न परिरहेको छ,’ भिडियोमा सञ्जय भन्छन्, ‘हामीलाई बहुत आशा छ, इन्डियाले हामीलाई मद्दत गर्नेछ, निराश बनाउने छैन ।’

रुसी सेनामा भर्ती भई युक्रेनसँग आमुन्नेसामुन्ने नै लड्न जानुपर्ने अवस्था बाहिरिएदेखि नै नेपालीहरू फिर्ता हुन चाहेका थिए । रुसी सेनामा भर्ती भइसकेपछि फर्किन इच्छुक नेपालीलाई रुसले फिर्ता पठाएको छैन । त्यसैगरी इन्डिया टुडेले प्रकाशित गरेको अर्को भिडियोमा उपेन, धन, खिल र मदन नाम बताउने पाँच जना नेपाली युवाले पनि आफूहरू युक्रेनसँगको युद्धमा जाने क्रममा बाटोमा बंकरमा लुकेर बसेको बताएका छन् । उनीहरूले ‘युद्धका क्रममा के हुन्छ, कसो हुन्छ थाहा छैन’ भन्दै उक्त भिडियो सम्झनाका लागि बनाएको उल्लेख गरेका छन् ।

रुसी सेनामा भर्ती भएका नेपालीहरूका अनुसार कम्तीमा दुई हजार नेपाली भर्ती भएका छन् । तीमध्ये धेरैजसो बेपत्ता भइसकेका छन् । ‘हाम्रो समूहमा २९ जना थियो । चार महिना रेडजोनबाट फर्किंदा अहिले ७ जना मात्रै छौं । बाँकी साथीहरू सम्पर्कविहीन छन्,’ राकेश लामाले कान्तिपुरसँग भने ।

युक्रेनको याकोलिप्कास्थित रेडजोनबाट दुई दिनको आरामका लागि आएका दैलेखका चन्द्रबहादुर रानाले युद्धमा फसेका सबै नेपालीलाई फिर्ता पठाउन जरुरी रहेको बताए । ‘दुई दिनको बिदामा रेस्टका लागि ल्याएको थियो । हाम्रो टोलीमा ३१ जना नेपाली छौं । सकेसम्म वारमा फसेका सबै नेपालीलाई फिर्ता पठाउन पाए राम्रो हुने थियो,’ रेडजोन जानुअघि छोडेको भ्वाइस नोटमा भनेका छन्, ‘रुसी सेनामा भर्ती भएका जोसुकै एक पटक लड्न जानैपर्छ । जजसले लडाइँलाई फेस गरेका छन्, लडाइँ लडेका छन् । उनीहरू एक सेकेन्ड पनि बस्न चाहँदैनन् ।’

उनका अनुसार युद्ध लड्न गएका कतिपय घाइतेको हातखुट्टा नै छैन । ‘कसैको तलतिरको ज्यान हुँदैन । कसैको हात छैन त कसैको खुट्टा छैन । ज्यान जानेको सकिगो । धेरै समस्या छन्,’ उनको अनुभव छ, ‘पैसाको कुराले गर्दा हामी यहाँ आएर फस्नुपर्‍यो ।’ उनले सोचेको भन्दा धेरै नाजुक अवस्था रहेको बताए । ‘कोही बिनापैसा लडिराख्नुपरेको छ । कोही अधकल्चो मान्छेलाई अस्पताल लगेर सन्चो बनाएर फेरि लडाइँमा पठाइरहेको छ,’ उनले भने ।

Russia-Ukraine war is expensive for Nepal: At least 96 Nepalis are without contact२० वर्ष सशस्त्र प्रहरीमा सेवा गरेका सुनसरीका हेमराज बुढाथोकीले परिवारको उपचार गर्न नसकेर रुसी सेनामा भर्ती हुनुपरेको बताए । ‘मेरी श्रीमती मृगौला पीडित हो । बिरामी थपिएको थपियै छ । तिर्न नसक्ने भएपछि सापटी खोजेर मात्रै नहुँदो रहेछ’, बुढाथोकीले भने, ‘यो अवस्थामा आएको चार महिनादेखि तलब छैन । भत्ता मात्रै आएको छ । परिवारमा अहिले पनि औषधि खाने पैसा छैन । के गर्ने बुढा भनेर फोन गर्छिन् । यसका लागि सरकारमा के सहयोग हुन्छ ? मलाई के सहयोग हुन्छ ? परिवारलाई के सहयोग हुन्छ ? लडाइँमा परियो भने मर्ने बाँच्ने ठेगाना हुँदैन । यहाँ अरिंगालको गोलामा ढुंगा हाने जस्तो हो ।’

भूराजनीतिक जानकार चन्द्रदेव भट्टले नेपालले अन्य मुलुकहरूसँग पनि सहकार्य गरेर अघि बढ्न सक्ने सुझाव दिए । उनले भने, ‘उदाहरणका लागि हामीले भारत र चीनसँग सहकार्य गरेर रुससँग संवाद गर्न सक्छौं । रुससँग भारत र चीन दुवैको राम्रो सम्बन्ध भएका कारण नेपालले त्यस पक्षलाई पनि उपयोग गर्न सक्छ ।’

पूर्वराजदूत विजयकान्त कर्णले नेपाली नागरिकका बारेमा रुसले राम्रो प्रतिक्रिया नदिएमा नेपाल सरकारले काठमाडौंमा रहेको रुसी राजदूतलाई बोलाएर सोध्नुपर्छ र आवश्यक परे राजदूतलाई फिर्ता पनि पठाउन पछि पर्न नहुने बताए । ‘रुसलाई अहिले सैनिक चाहिएको छ । उसले सामान्य रूपमा हामीले भनेको मान्नेवाला देखिन्न । त्यसैले रुसी सेनामा नेपाली भर्तीबारे नेपालले अब अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि कुरा उठाउन थाल्नुपर्छ,’ उनको भनाइ थियो ।

गत मंसिर २५ मा मस्कोस्थित नेपाली दूतावासमा उद्धारका लागि आवेदन दिएका अछामका चक्रबहादुर कुँवर र पर्वतका कृष्णबहादुर क्षेत्रीले समयमा उद्धार नहुँदा आफूहरू निकै निराश हुनुपरेको बताए । कुँवर र क्षेत्री बंकर बनाउने काम गरिरहेका छन् । ‘हाम्रो सरकार के गरिरहेको छ ? थाहा छैन । हामी कतिको आशावादी मात्र बनौं ?’, उनले कान्तिपुरसँग फोनमा भने, ‘हामी बाँच्न चाहन्छौं । हामीसँग बसिरहेका साथीहरूले मृत्युवरण गरेका देखेका छौं ।’

कुँवरले आफूहरूलाई पनि कतिखेर युद्ध मैदान (रेडजोन) मा पठाउने ठेगान नभएको बताए । ‘अहिले त बंकर बनाउने काम गरिरहेको छु । मेरो साथीहरू कोही सम्पर्कमा छैन । कुन बेला हिँडाउने हो थाहा छैन,’ उनले भने, ‘दूतावासलाई जुन हप्ता फोन गर्दा पनि उद्धार गर्न अझै दुई महिना लाग्छ भनेर जवाफ आउँछ ।’

उदयपुरकी टीकादेवी मगरले आफ्नो श्रीमान् शेखरको उद्धारका लागि अपिल नगरेको दिन छैन । ‘हामीलाई एकदमै खतरा छ । वारमा लैजाने भनिरहेको छ । पहिलाभन्दा अहिले झन् खतरा छ । सेकेन्ड सेकेन्डको भरमा बम खस्छ । अहिले छ, भरे छैन भन्छ । चाँडो उद्धार गर्नु छ,’ श्रीमान् शेखरको भ्वाइस नोट सुनाउँदै टीकादेवीले भनिन् ।

युद्धक्षेत्रबाट निरन्तर आउने यस्तो भ्वाइस नोटले आफू विचलित हुनुपरेको टीकादेवीले बताइन् । ‘हप्तामा एक–दुई पटक कुरा हुन्छ । आइतबार सामान किन्न बजार आउने बेला फोन गर्नुभएको थियो । हामीलाई अब छिट्टै वार जोनमा लिएर जान्छ भनेको सुन्दा मलाई तनाब बढिरहेको छ,’ उनले भनिन्, ‘रातभरि निन्द्रा लाग्दैन । डेढ वर्षको छोरोलाई गाउँमा छोडेर श्रीमान्लाई निकाल्न काठमाडौंमा छु । मन शान्त हुने सूचना आउँदैन ।’

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण श्रेष्ठ भने नेपालले आफ्नै पहलकदमीमा नेपालीहरूको उद्धार गर्ने बताउँछन् । ‘हामी आफ्नै पहलकदमीमा हाम्रा नेपालीहरूको समस्याको समाधान गर्ने प्रयत्नहरू गरिरहेका छौं । हाम्रा नागरिकको उद्धारका निम्ति प्रयत्न गरिरहेका छौं,’ उनले भने । श्रेष्ठले नेपाल सरकारले नेपालीहरूको उद्धारका निम्ति जे गर्नुपर्छ, सबै वैध प्रक्रियाहरू अगाडि बढाइरहेको दाबी गरे ।

नेपालीहरूको अवस्थाबारे बुझ्नका लागि नेपालले गरिरहेको लगातारको प्रयासपछि गत बिहीबार रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठबीच टेलिफोन कुराकानी भएको थियो । कुराकानीमा रुसी सेनामा भर्ती भएका नेपालीहरूको संख्या, लडाइँका क्रममा मारिएकाको शव नेपाल ल्याइदिन, क्षतिपूर्ति दिन र नेपालीलाई रुसी सेनामा भर्ती नलिन तथा भर्ती भएकालाई फिर्ता पठाइदिन नेपालका तर्फबाट परराष्ट्रमन्त्री श्रेष्ठले आग्रह गरेका थिए । तर रुसी विदेशमन्त्रीले युद्धका क्रममा मारिएकाका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भए पनि अन्य विषयमा भने चर्चा गर्न नचाहेको बुझिएको छ ।

यसअघि युगान्डाको राजधानी कम्पालामा माघको पहिलो साता भएको असंलग्न आन्दोलन अभियानको १९ औं शिखर सम्मेलनका क्रममा तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले रुसी उपविदेशमन्त्री सर्गेई वसिलिइविचसँग भेटवार्ता गरेका थिए । उक्त अवसरमा पनि उपविदेशमन्त्रीले क्षतिपूर्ति दिनेबाहेक अरू केही कुरा गरेका थिएनन् । उक्त भेटमा फेरि साउदले रुसी मन्त्रीलाई नेपाली नागरिकलाई गैरकानुनी रूपमा भर्ना नगर्न र भर्ना भएका सम्पूर्णलाई नेपाल फर्काउनका लागि पहल गरेका थिए । साथै, साउदले आफूलाई मस्को भ्रमणको बाटो खोलिदिन पनि आग्रह गरेका थिए । तर रुसी पक्षले नेपाल सरकारको आग्रहलाई ‘नोट’ मात्र गर्‍यो ।

परराष्ट्र मन्त्रालयमार्फत मंसिर १८ मा ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको थियो । परराष्ट्रमन्त्री साउदले काठमाडौंस्थित नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई मंसिर तेस्रो साता र पुसको पहिलो साता बोलाएर नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए । 

नेपाली फिर्ता ल्याउन प्रयत्न गरिरहेका छौं’

Russia-Ukraine war is expensive for Nepal: At least 96 Nepalis are without contactनारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्रमन्त्री

रुसी सेनामा रहेका नेपालीलाई उद्धार गर्न सरकारले के गरिरहेको छ ? 

नेपालीको उद्धारका निम्ति जे गर्नुपर्छ, ती सबै वैध प्रक्रिया अगाडि बढाइरहेका छौं । 

नेपाल सरकारले केही गर्न नसकेको गुनासो सुनाउँदै रुसी सेनामा रहेका नेपालीले भारत सरकारसँग उद्धारको आग्रह गरिरहेको भिडियो आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भयो । के नेपाल सरकार आफ्ना नागरिक ल्याउन अक्षम भएको हो ? 

हामी आफ्नै पहलकदमीमा आफ्ना नागरिकको उद्धारका निम्ति प्रयत्न गरिरहेका छौं । 

गत बिहीबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग टेलिफोनमा संवाद गर्नुभयो, तपाईंले के भन्नुभयो ? 

रुसी सेनामा रहेका नेपालीहरूका बारेमा कुरा भयो । कतिले ज्यान नै गुमाइसकेका छन् । हामीलाई शव छिटो चाहियो, तपार्इंहरूले नेपालमा ल्याइदिनुपर्छ र क्षतिपूर्ति पनि दिनुपर्छ भन्यौं । नेपालको नीतिबारे पनि जानकारी दियौं । नेपालीलाई हाम्रो पारम्परिक रूपमा सम्झौता भएका मुलुकहरूबाहेक अन्य कुनै पनि देशको सेनामा भर्ना हुने अनुमति छैन भन्ने बतायौं । नेपाल र रुसबीचको पुरानो मित्रतालाई पनि ध्यान दिएर विचार गरिदिन अनुरोध गर्‍यौं । 

रुसी सेनामा अहिले काम गरिरहेका नेपालीहरूको सम्बन्धमा के भन्नुभयो ? 

उनीहरूसँग भएका सम्झौता रद्द गरेर फिर्ता पठाइदिन आग्रह गरेका छौं । 

रुसी सेनामा कति संख्यामा नेपाली रहेछन् भन्ने तथ्यांक प्राप्त भयो ? 

हामीले रुसी विदेशमन्त्रीलाई त्यहाँ रहेका नेपालीको संख्या र अवस्थाबारे जानकारी दिन भनेका थियौं । तर विदेशमन्त्रीले क्षतिपूर्ति दिनेबाहेक अन्य थप कुरा गर्नुभएन । उहाँले क्षतिपूर्तिको प्रक्रिया अगाडि बढेको बताउनुभयो । अरू विषयमा सम्बन्धित अधिकारीहरूले नियमित कुराकानी गर्ने जानकारी गराए ।

युक्रेनी सेनाले बन्दी बनाएका नेपालीहरूका बारेमा रुसले के भन्यो ? 

रुसको पक्षमा युद्धमा भाग लिन जाँदा युक्रेनी सेनाले नेपालीहरू बन्दी बनाएर राखेकोबारे रुसलाई भनेका छौं । उनीहरूलाई छुटाउन पहल गरिदिन पनि रुसलाई आग्रह गरेका छौं ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully