काठमाडौँ — सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए ।
प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीचको सहमतिअनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको चौधरीले बताए । ‘हामीले हिजोको दिनमा प्रधानमन्त्रीसँग जुन सम्झौता गरेका छौँ, जुन विषयहरू बाहिर पनि आइसकेका छन् । त्यो विषयमा सहमति भएको छ । त्यसको कार्यान्वयन गर्न हामी इच्छुक छौँ,' उनले भने, 'आज त्यो सबै सहमति कार्यान्वयन हुनेगरी विश्वासको मत दिने निर्णय गरेका छौँ । हामीले जे विषयमा सहमति भएको छ, त्यो सहमति कार्यान्वयन हुन सकेन, भएन भने इमान्दारी भएन भने फरक तरिकाले सोच्न सक्ने निर्णय गरेका छौँ ।'
दाहाल, माधवकुमार नेपाल र केपी शर्मा ओली १५-१५ महिना प्रधानमन्त्री बन्ने सहमति भएको चौधरीले दाबी गरेका छन् । अबको १५ महिना नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, त्यसपछिको १५ महिना नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपाल र त्यसपछिको १५ महिना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमति भएको चौधरीको दाबी छ ।
