कांग्रेसभित्रको द्वन्द्वले आजित भएको थिएँ : प्रधानमन्त्री दाहाल

'मेरो कारणले कांग्रेसभित्र एकता पैदा हुँदैछ । यो युद्धविराम तपाईंहरूमा भएको छ प्रचण्डका कारणले । यसलाई स्थायी बनाउनुहोला । यसलाई शान्तिमा बदल्नुहोला ।'

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो एक वर्ष कांग्रेसभित्रको द्वन्द्वले सरकार र गठबन्धनमा आफू आजित भएको बताएका छन् । संसद्मा विश्वासको मतको प्रस्ताव राख्ने क्रममा प्रधानमन्त्री दाहालले कांग्रेसको आन्तरिक द्वन्द्वले सरकार सञ्चालनमा परेको बताए । 

कांग्रेसभित्रको द्वन्द्वले आजित भएको थिएँ : प्रधानमन्त्री दाहाल

प्रतिनिधिसभाको बुधबारको बैठकमा आफूलाई धोकेबाज भनेकोमा पनि प्रधानमन्त्री दाहालले असन्तुष्टि जनाए । 'संवैधानिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेबाज कसरी भए ?,' उनले भने, 'निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरूले युद्धविराम नै गरेर मप्रति नयाँ निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेको महसुस गरेको छु । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ ।'

गठबन्धन बदलिएपछि कांग्रेसका दुई समूहबीच एकता भएको दाहालको भनाइ थियो । 'आज गठबन्धनमा गरेको परिवर्तनसँगै कांग्रेसभित्रको एकत्वको कारक बन्न पाएकोमा खुसी छु । मेरो कारणले कांग्रेसभित्र एकता पैदा हुँदैछ,' उनले भने, 'यो युद्धविराम तपाईंहरूमा भएको छ प्रचण्डका कारणले । यसलाई स्थायी बनाउनुहोला । यसलाई शान्तिमा बदल्नुहोला ।'

कांग्रेसको एकताले मुलुकको लोकतन्त्रलाई बलियो बनाउने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री दाहालले कांग्रेसलाई एकताबद्ध भएर चुनावमा जान पनि शुभकामना दिए । उनले भने, 'तपाईंहरू एक्लै लड्नुहोला । बहुमत ल्याउनुहोला मेरो त शुभकामना छ ।'

प्रकाशित : फाल्गुन ३०, २०८० ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?