कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री दाहाल

फाल्गुन २४, २०८०

कान्तिपुर संवाददाता

Cooperatives and microfinance working against the law will be brought under the scope of action: Prime Minister Dahal

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनविपरीत सञ्चालन भइरहेका लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

बिहीबार संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका हुन् ।  प्रधानमन्त्री दाहालले तोकेकोभन्दा बढी शुल्कभन्दा बढी शुल्क सम्बन्धित खातावालाई फिर्ता लिने काम भइरहेको जानकारी दिएका हुन् ।

'तोकेभन्दा बढी लिइएको सेवा शुल्क फिर्ता गरी सम्बन्धित ऋणीको खातामा जम्मा गर्न दिएको निर्देशन कार्यान्वयन भइरहेको छ,' प्रधानमन्त्री दाहालले भने, 'गुनासो सुनुवाइ र त्यसको समाधानका लागि लघुवित्त संस्था सुपरीवेक्षण विभागमा बेग्लै डेस्कको व्यवस्था गरिएको छ ।'

त्यस्तै प्रधानमन्त्री दाहालले दुग्ध किसानको भुक्तानी सहज बनाउन सरकार, सम्बन्धित उद्योगी–व्यवसायी र किसान संगठनबीच वार्ता गराई किसानले पाउनुपर्ने पुस मसान्तसम्मको बक्यौता चैत्र २१ गतेभित्र भुक्तानी गरिसक्ने र अन्य नियमित भुक्तानी जारी राख्ने सहमति भएको बताए ।

प्रधानमन्त्री दाहालले  कपिलवस्तुको रामग्रामको जग्गा लिज सम्बन्धमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशन लुम्बिनी विकास कोषको कार्यकारिणी समितिले कार्यान्वयन गरिसकेको जानकारी गराए ।

कान्तिपुर

Link copied successfully