महासमिति बैठकले बृहत् एकताको सन्देश दिएको छ : सिटौला

फाल्गुन १०, २०८०

कान्तिपुर संवाददाता

The General Committee meeting has given a message of greater unity: Sitaula

काठमाडौँ — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महासमिति बैठकले पार्टीभित्र बृहत् एकताको सन्देश दिएको बताएका छन् । उनले महासमितिले कांग्रेसलाई आगामी निर्वाचनमा एकल बहुमत प्राप्त गर्न सक्ने ताकत मिलेको दाबी गरे । 

महासमिति बैठकको समापनमा आफ्नो धारणा राख्दै नेता सिटौलाले बैठकले कांग्रेसभित्र एकता रहेको सन्देश दिएको दाबी गरे ।

'यो महासमिति बैठकले कांग्रेसभित्र बृहत् एकताको सन्देश दिएको छ, आगामी निर्वाचनमा कांग्रेसले बहुमतका साथ परिणाम निकाल्ने गरी यसबाट ताकत प्राप्त भएको छ भन्ने लागेको छ,' उनले भने । 

उनले संविधान बनाएको कांग्रेसले नै संविधानको कार्यान्वयनमा पनि आफ्नो भूमिका देखाउनुपर्ने बताए । 'महासमिति बैठक ऐतिहासिकरुपमा सम्पन्न भएको छ । यो बैठकबाट हामीबीचको तितोमिठो मेटिएको छ । हामीबीचको असमझदारी मेटिएको छ,' उनले भने, 'अब हामी एकताबद्ध भएर अघि बढ्नेछौँ । कांग्रेस हार्दैन, आगामी निर्वाचनमा कांग्रेसले सम्पूर्णरुपमा बहुमत प्राप्त गर्ने गरी अहिलेदेखि नै पार्टी परिचालित हुनेछ ।'

उनले महासमिति सदस्यहरुले विचार र तथ्य दुवै हिसाबले महत्वपूर्ण धारणाहरु राखेको भन्दै नेतृत्वले त्यसलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताए । 

कांग्रेस महासमिति बैठक

कान्तिपुर

Link copied successfully