भूकम्पपीडितलाई अस्थायी आवास बनाउन एमालेले १ हजार स्वयंसेवक खटाउने

कार्तिक २२, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेले जाजरकोट भूकम्प पीडितहरूको अस्थायी आवास निर्माणका लागि १ हजार स्वयंसेवक परिचालन गर्ने भएको छ । एमाले सचिवालयको बुधबार बैठकले मंसिर १ गतेदेखि अस्थायी घर टहरा निर्माणका लागि स्वयंसेवक परिचालन गर्न निर्णय गरेको हो ।

'एमालेले २०७२ सालमा ५० हजार स्वयम् सेवक परिचालन गरेर तीन महिनामा २७ हजार अस्थायी घर टहरा बनाएका थियौं' उप-महासचिव प्रदीप ज्ञवालीले भने, 'यस पटक एक हजार स्वयंसेवक खटिनु हुनेछ । ५ हजार कार्य दिनभन्दा बढी खट्ने छौं । एक करोड रुपैयाँभन्दा बढीको श्रम परिचालन हुनेछ ।'

उनले अभियानको हजारौै‌ं घर टहरा बनाउने बताए । 'अस्थायी तर न्यायो घर बनाएर बुझाउने छौं,' ज्ञवालीले भने । सो कामको संयोजन पार्टीको प्रदेश कमिटीले गर्ने एमालेले जनाएको छ । 

एमालेले भूकम्पपीडितहरूका लागि  संकलन भएको राहत प्रभावकारी रूपमा वितरण गर्ने समेत माग गरेको छ । 'चिसोमा भूकम्प पीडितहरू भोकभोकै सुत्नु परेको छ' ज्ञवालीले भने, 'विपद् पर्यटनको काम भएको छ । घुम्न जाने र सेल्फी खिच्ने काम भएको छ । राहत वितरणमा पारदर्शी, जिम्मेवार  हुन र प्रभावकारी रूपमा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराउँछौं ।' एमालेको राहत वितरणमा पनि पक्षपात भएको भन्दै त्यस्तो नगर्न ध्यानाकर्षण गराएको छ ।

गत शुक्रबार जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ३५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।  जसमा सबैभन्दा बढी क्षति जाजरकोट र पश्चिम रुकुममा पुगेको छ । 

जाजरकोट भुकम्प

कान्तिपुर

Link copied successfully