काठमाडौँ — गएरातिको भूकम्पका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाल्पासहित तीन जिल्लाको कार्यक्रम स्थगित गरेको छ । शनिबार पाल्पाको तानसेनमा हुने भेलाका लागि सभापति रवि लामिछाने शुक्रबार बेलुका त्यहाँ पुगेका थिए ।
तर राति गएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएपछि लामिछानेले कार्यक्रम स्थगित गरेर भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा केन्द्रीत हुन आग्रह गरेका छन् ।
रास्वपाका सांसद र केन्द्रीय सदस्यहरूसहितको एक स्वास्थ्यकर्मीहरूको टोलीसमेत त्यसक्षेत्रमा खटिने तयारी रहेको उनले बताए ।
'हाम्रो पार्टीमा धेरै जना साथीहरू आफैँ चिकित्सक पनि हुनुहुन्छ । उहाँहरुको एउटा टोली बनाएर भूकम्प प्रभावित क्षेत्रमा खटिने तयारीमा छ,' लामिछानेले भने, 'विपद्को बेला स्थानीय प्रशासनसँग समन्वय गरेर धेरैभन्दा धेरै साथीहरुलाई उद्धार र राहतमा खटिन आग्रह गर्दछु ।'
रास्वपाले शनिबार पाल्पामा भेला आयोजना गरेको थियो भने आइतबार र सोमबार गुल्मी र अर्घाखाँचीमा सभा गर्ने तयारी थियो । सभापति लामिछानेले तीनै जिल्लाका कार्यक्रम स्थगित हुने र त्यसबारे पार्टीले पछि आधिकारिक सूचना जारी गर्ने बताए । 'म आजै भूकम्प प्रभावित क्षेत्र पुग्दैछु । तपाईहरु पनि त्यहाँ पुगेर प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिनुहोला,' उनले भने ।
