काठमाडौँ — जाजरकोटलाई केन्द्र बनाएर गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति प्रमुख राजनीतिक दलहरुले दु:ख व्यक्त गर्दै तत्काल उद्धार र राहतमा खटिन आग्रह गरेका छन् ।
दलहरूले यस्तो बेला नागरिकले सरकारको महसुस गर्न पाउनुपर्ने भन्दै सरकार र पार्टीका नेता कार्यकर्ताहरूलाई समेत उद्धार र राहतका काममा खटिन आग्रह गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेहरुको उपचार गर्न सरकारसँग माग गरेका छन् । उनले उद्धार र राहतमा खटिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका छन् ।
'जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानविय क्षति भएको खवरले दु:खित भएको छु । प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाईतेहको उपचार गर्न सरकारसँग माग गर्दछु । साथै प्रभावित क्षेत्रमा मानवीय सहायत पुर्याउने प्रबन्ध गर्न पनि अनुरोध गर्दछु,' देउवाले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।
त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रभावित क्षेत्रमा तत्काल प्रभावकारी उद्धार र राहतको खाँचो रहेको भन्दै सबैलाई उद्धार र राहतमा खटिन आग्रह गरेका छन् । 'मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ। राती आएको भूकम्पका कारण उद्दार प्रभावकारी हुन सकेको छैन होला। मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरें,' ओलीले भनेका छन्, 'यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ। सबै साथीहरू उद्धारमा खटौँ ।'
अध्यक्ष ओलीले घाइतेहरूलाई शीघ्र उद्धार र उपचारको प्रबन्ध गर्न र प्रभावित क्षेत्र बाहिरकाले सहयोग पुर्याउन समेत आग्रह गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उद्धार र राहतका केन्द्रित हुन अपिल गरेका छन् । शनिबार पाल्पामा सभा गर्न त्यहाँ पुगेका सभापति लामिछानेले तत्काल पार्टीले आयोजना गरेका सभाहरु स्थगित गर्दै उद्धार र राहतमा केन्द्रित हुन आग्रह गरेका छन् । 'म आजै भूकम्प प्रभावित क्षेत्र पुग्दैछु । हाम्रा केन्द्रीय सदस्यहरू र सांसदहरू पनि मेडिकल टोलीसहित प्रभावित क्षेत्रमा खटिन तयारीमा हुनुहुन्छ,' उनले भनेका छन् ।
