काठमाडौँ — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गएरातिको भूकम्पबाट पीडितको उद्धार र उपचारको कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री श्रेष्ठले सम्बन्धित निकायका प्रमुखहरुलाई पीडितको उद्धार र उपचारमा कुनै कमजोरी हुन नदिन निर्देशन दिएका हुन् ।
बैठकमा गृहसहित स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्धार निकायका प्रमुख सहभागी छन् ।
शुक्रबार राति ११.४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र पश्चिम रुकुमका कतिपय ठाउँमा अकल्पनीय मानवीय र भौतिक क्षति भएपछि सुरक्षा संयन्त्रहरू रातिदेखि नै उद्धारमा जुटेका छन्। गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामाग्री पठाइसकेको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्धारमा खटिएका छन्। ती जिल्लाका मेडिकल टिमहरू समेत घटनास्थलमा पुगिसकेका छन्। सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काइ ट्रकमार्फत घटनास्थलहरूमा पुगिसकेको छ।
मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा पुगेको क्षतिको निरन्तर अपडेट लिँदै त्यहाँ प्रभावकारी उद्धार, उपचार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
