भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिफोनको सेवा निशुल्क

कार्तिक १८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिफोनको सेवा पाँच दिनका लागि निशुल्क गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले शनिबारदेखि पाँच दिनका लागि जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदान प्रदान गर्न आवश्कयताअनुसार 'नमस्ते वाइफाइ' सेवा निशुल्क प्रदान गर्ने निर्णय गरेको हो ।

यी तीन जिल्लामा रहेका टावरमार्फत प्रवाह हुने जुनसुकै ठाउँबाट जारी भएका टेलिफोनमा पनि निशुल्क टेलिफोन र एमएमएस गर्न सकिने व्यवस्था गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा टेलिकमले पाँच दिनसम्म निशुल्क सिम पनि उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गरी भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमले आफ्नो कर्तव्यबोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरूलाई नियमितरुपमा सुचारु राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

त्यस्तै, सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर (इटीसी)लाई सक्रिय बनाएको छ ।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय भएको छ ।

त्यस्तै, टेलिफोन सेवा प्रदायकले सेवालाई प्रभावकारी बनाउन सम्पर्क बिन्दु र सम्पर्क व्यक्ति तोक्ने र निरन्तर सम्पर्कमा रहने पनि बैठकले गरेको छ । 

बैठकले भूकम्प प्रभावित क्षेत्रबाट सत्यतथ्य, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । बैठकले केन्द्रीय र जिल्ला आपतकालीन केन्द्रसँग निरन्तर सम्पर्कमा रहने निर्णय पनि गरेको छ ।

बैठकमा नेपाल टेलिकमका पदाधिकारीले भूकम्प प्रभावित क्षेत्रमा आधारभूत दूरसञ्चार सेवा निःशुल्क गरेको जानकारी दिएका थिए । 

बैठकमा मन्त्री शर्मा, मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राविधिकरण, नेपाल टेलिकमलगायतका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता थियो ।

जाजरकोट भुकम्प

कान्तिपुर

Link copied successfully