इजरायलबाट स्वदेश आइपुगे २५४ नेपाली

आश्विन २६, २०८०

सुरज कुँवर, प्रकाश धौलाकोटी, अंगद ढकाल

काठमाडौँ — इजरायलमा रहेका २५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । नेपाल एयरलाइन्सको विमानबाट उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको हो ।

इजरायलमा अर्न एण्ड लर्न कार्यक्रममा गएका विद्यार्थीहरुसहित स्वदेश फर्कन लागेका  नेपाली नागरिकलाई लिन  परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए ।

स्वदेश आएपछि त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले ब्रिफिङ गर्दै आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने जानकारी दिए । उनले नियमित फ्लाईटहरु मार्फत् पनि ल्याइने जानकारी दिए । 'रेगुलर फ्लाईटबाट भएपनि नेपालीलाई देश फिर्ता गरिनेछ। परिवारले चिन्ता लिनु पर्दैन। सरकार समर्पित भएर लागेको छ' उनले भने । ५०३ जनाले आउन आवेदन दिएकोमा अहिले  २५४ जनालाई ल्याइएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए । 

स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट (नेपाली समय ५ बजेर १७ मिनेट) मा नेपाली विमानले उडान भरेको थियो । उद्धारका लागि बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

सरकारले स्वेदश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो । तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरुलाई  नेपाल ल्याइएको हो । 

यो पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि छन् । यीमध्ये धनबहादुर चौधरी आक्रमणबाट घाइते भएका व्यक्ति हुन् । उपचारकै क्रममा रहेका उनलाई ट्राभल गर्न सक्ने चिकित्सकहरूले बताएपछि उनी स्वदेश आएका हुन् । 

आक्रमणमा परी घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् । १७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । शव ल्याउने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलमा हमला

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

प्रकाश डेढ दशकदेखि पत्रकारितामा क्रियाशील धौलाकोटी हाल ईकान्तिपुरसँग आबद्ध छन् । उनी सामाजिक तथा राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully