काठमाडौँ — पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको परिवारसँग ‘घनिष्ठ सम्बन्ध’ भएका चिनियाँ नागरिक दाओजिन वाङले तस्करीबाट पटक–पटक नेपालमा सुन भित्र्याएको खुलेको छ ।
दुबईबाट गत पुस १० मा विद्युतीय चुरोट (भेप) मा लुकाएर करिब ९ केजी सुन भित्र्याउनेमध्येका वाङ विगतदेखि नै सुन तस्करीमा संलग्न रहेको पाइएको हो । हाल फरार वाङले तस्करीको सुन भित्र्याएको र त्यसबापत भरियालाई दिनुपर्ने ‘कमिसन’ का विषयमा गरिएको कुराकानीको अडियो कान्तिपुरले फेला पारेको छ ।
अडियोअनुसार केही वर्ष पहिलेको प्रसंगलाई लिएर वाङ र भरियाबीच ५ मिनेटभन्दा बढी कुराकानी हुन्छ कान्तिपुरलाई प्राप्त अडियोअनुसार वाङ नेपाली भाषामै कुराकानी गर्ने प्रयास गर्छन् । त्यही क्रममा ४ वर्षअघि तस्करीको सुन भित्र्याउन सघाएबापत पाउनुपर्ने ४२ लाख रुपैयाँ नदिएको विषयमा भरियाले वाङसँग असन्तुष्टि पोख्छन् । उनले बौद्धस्थित पोटाला होटलको नाम बारम्बार लिएका छन् । पोटालालाई चिनियाँ गिरोहले अपराधको सेल्टर बनाएको आशंका छ । त्यस क्रममा वाङ र भरियाबीच तस्करीको सुनलाई सांकेतिक रूपमा ‘खानेकुरा’ भनेर सम्बोधन गरिन्छ ।
अडियोमा सुन तस्करीबारेको कमिसनको प्रसंगमा वाङले ‘हुन्छ, मिल्छ’ भनेर सम्झाउँछन् । तर, कुराकानीकै क्रममा दुई जनाबीच चर्काचर्की पर्छ । त्यसपछि वाङले एरिङ र च्याङसँग आफैं कुरा गर्न भन्दै पन्छिन खोज्छन् । एरिङ र चाङको विस्तृत हुलिया खुलेको छैन । तर, उनीहरू केरुङ–रसुवा हुँदै सुन पठाउने गिरोहका सदस्य रहेको बुझिन्छ । भरियाले ‘एरिङले फोन पनि उठाएन, विच्याटमा पनि जवाफ फर्काएन’ भन्दै उता (चीन) कुरा गरेर पैसा उपलब्ध गराउन आग्रह गर्छन् । पैसा आफूले दिन नसक्ने भन्दै वाङले भरियालाई एरिङसँगै पैसा माग्न भनेपछि रिसाउँछन् । त्यसपछि भरियाले विगतमा भएका तस्करीका घटनाबारे पोल खोल्दै जान्छन् । तर, स्रोतका अनुसार यो अडियो भेप प्रकरण बाहिरिनुभन्दा अघिको हो । स्रोतले ‘सुरक्षा’ को कारण देखाएर भरियाको नाम खुलाउन चाहेन ।
यस्तो छ चिनियाँ र भरियाबीच भएको सुन तस्करीको लेनदेनको अडियोमा उल्लेखित संवाद
भरिया : कुनै काम छैन ? उता पठाउने ?
चिनियाँ तस्कर दाओजिन वाङ : इण्डिया पठाउने अहिले काम छैन । त्यो छ नी, अस्तीको कुरा, एउटा उ पनि कुरा छ नी ! उसको कुरा मिलेको छैन नी ।
भरिया : ए ! ए, त्यही त नी ।
दाओजिन वाङ : पछि एकैचोटी । धेरै कुरा है ।
भरिया : खानेकुरा (सुन) पठाइराछ त अहिले । होटल पोटाला छ नी पोताला, बौद्धमा ।
दाओजिन वाङ: कति महिना भयो सामान आउने छैन ।
भरिया : ल मैले दुई तीन मान्छेको काम गरिसकेँ त खानेकुराको ।
दाओजिन वाङ : हो । राम्रो भयो ।
भरिया : खानेकुरा (सुन)को काम छ भने त्यो मिलाए हुन्छ नी त ।
दाओजिन वाङ : ल ल ल । ठिक छ ल ।
भरिया : ल ल भन्नु हुन्छ, फोन नै गर्नु हुन्न ।
दाओजिन वाङ : अँ ।
भरिया : अनि एरिङ र च्याङ आउने कुरा के छ ?
दाओजिन वाङ: के को ?
भरिया : एरिङ आउने, च्याङ आउने कुरा के भयो ?
दाओजिन वाङ: धेरै महिना भयो, म सँग कुरा छैन नी ।
भरिया : कहिले सम्म म चुप लागेर बस्नु ? एरिङ आउने, च्याङ आउने मात्रै कुरा गर्ने । हिसाबकिताबका लागि कुरै ननिकाल्ने ?
दाओजिन वाङ : यो छ नि, एरिङ आउने छैन । काम छैन ।
भरिया : म पैसा मार्ने होइन । बोलाउने काम तपाईंको हो । म तपाईंको काम गर्ने मान्छे हो । बोलाउनु पर्यो नी त । हिसाबकिताब फाइनल गर्नुपर्यो । मैले तपाईंको काम गरेको हो । एरिङले हिसाब बिगार्यो भने बोलाउनु पर्यो नी त । हिसाब त क्लियर गर्नु पर्यो नी । कहिले बोलाउने, के गर्ने हो । कहिलेसम्म पर्खने हो मैले ? तीन/चार वर्ष कुरिसकेँ म । मेरो फोन उठाउदैंन नि उसले । बीच्याटमा म्यासेज गरेँ, रिप्लाई छैन । फोन उठाउँदैन । अनि ?
दाओजिन वाङ : कुरा हुन्छ, है ।
भरिया : बारम्बार यस्तै कुरा गरिराख्नु भो भने भोलीका दिनमा गार्हो पर्यो भने मलाई केही नभन्नु है दाई ।
दाओजिन वाङ : के को ? ठूलो कुरा के को हुन्छ ?
भरिया : के हुन्छ ? एरिङ बोलाउने कुरा के हुन्छ ? चारवर्ष भयो, कहिले आउने अब ?
दाओजिन वाङ : तपाईंले बोलाउने हो ?
भरिया : मैले किन बोलाउने ? तपाईंको स्टाफ हो ।
(दुईजना बीच फोन संवादमै झगडा हुन्छ । पहिलेको हिसाब बाँकी भएको विषयमा विवाद हुन्छ भरियाले प्रहरीलाई खबर गर्ने चेतावनी दिन्छन् )
भरिया : म जतिचोटी आउने, एरिङसँग झगडा हुने । ठीक छ ? तपाईं नहुने, एरिङ मात्रै हुने । झगडा हुने, एरिङ निस्किने । हिसाब गर्दा लास्टमा छोड्दिने । मेरो २९ लाखको कुरा, पछि एरिङ आउला, नआउला, होटललाई समात्छु (पोताला होटल, बौद्ध)लाई समात्छु म । १५ लाखको हिसाबको कुरा, दिइसक्यो भन्ने कुरा गरिसक्यो, मेरो खातामा आएको छैन । अब तपाईंलाई समात्ने, भगवान कस्सम दाई । बैंक खातामा पैसा हाल्ने भन्ने, पैसा नआउने । तपाईंको अफिसबाट १ लाख लगेपनि साइन गरेको छ, १० लाख लगेपनि साइन गरेको छ । फोनमा हास्ने, ठूलो कुरा गर्ने काम नगर्ने । है । नेपालमा बस्न आएको मान्छे, पावर लगाएर म यस्तो हुन्छु, उस्तो हुन्छु भनेर पावर नलगाउने है । मान्छे रिसायो भने जे पनि गर्न सक्छ । बुझ्नु भो नि कुरा । मेरो १५ लाख रुपैयाँ त्यत्तिकै खाने ?
दाओजिन वाङ : भयो भयो ।
भरिया : एरिङ तपाईंको स्टाफ हो, मैले तपाईंको काम गरेको हो ।
दाओजिन वाङ : हा हा हा ।
(संवाद टुंगिन्छ)
