दावाकै योजनामा टोखामा तस्करीको सुन गाल्ने कारखाना खोलेको, स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याउन रेडी ट्रेड कम्पनी खोल्न भूमिका निर्वाह गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूको आशंका
काठमाडौँ — नेपालमा बसेर चिनियाँ गिरोहमार्फत ‘आपराधिक धन्दा’ सञ्चालन गरिरहेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ क्विन्टल सुन प्रकरणमा पक्राउ परेका छन् । हङकङबाट भित्रिएको तस्करीको सुन प्रकरणमा गिरोहसँग सम्पर्क र साँठगाँठ खुलेपछि राजस्व अनुसन्धान विभागले दावालाई शनिबार राति ठमेलस्थित भियाना होटलबाट पक्राउ गरेको हो ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार दावाले हङकङबाट आएको तस्करीको सुन भारत पुर्याउन काठमाडौंमा व्यवस्थापकको भूमिका निर्वाह गरेको देखिन्छ । सुन व्यवस्थापनका लागि दावाले पत्नी अमला रोका सञ्चालक रहेको ठमेलस्थित भियाना होटल र चिनियाँले सेल्टर लिएका घर प्रयोग गरेको पाइएको छ । दावाकै योजनामा टोखामा तस्करीको सुन गाल्ने कारखाना खोलिएको पनि खुलेको छ । तस्करीको सुन स्कुटरको ‘ब्रेक सु’ भनेर ल्याउन रेडी ट्रेड कम्पनी खोल्न दावाको भूमिका रहेको अनुसन्धान अधिकृतहरूको आशंका छ ।
होटल भियानामा अमलाका अलावा मञ्जिल श्रेष्ठ पनि सञ्चालक छन् । रोल्पा थबाङकी अमला र दावाबीच २०७४ तिर विवाह भएको देखिन्छ । अमलासँग विवाह गरेपछि दावाले फर्जी कागजातका आधारमा काभ्रेको नमोबुद्ध–११ स्थायी ठेगाना राखेर निमा तामाङका नाममा २०७४ पुस २० मा नागरिकता लिएका थिए । उनले २०७५ माघ ११ मा नेपाली राहदानी लिएका थिए । नागरिकतामा सम्पर्क व्यक्तिका रूपमा अमला रोक्का छन् । काभ्रे प्रशासनले नागरिकता प्रमाणपत्र जारी गर्दा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा थिए । दावाले फर्जी विवरण पेस गरी लिएको नेपाली राहदानीबाट पनि पटक–पटक विभिन्न देश घुमेका थिए ।
दावा अवैध कल बाइपास, अनलाइन जुवा, विदेशी मुद्रा तस्करी, म्याच फिक्सिङ, अश्लील भिडियो बनाएर पैसा बार्गेनिङ गर्नेजस्ता अपराधमा जोडिएका व्यक्ति हुन् । बेल्जियमबाट जारी राहदानीअनुसार दावाको पुर्ख्यौली तिब्बतको लिथाङ हो । सन् १९८४ मार्च १६ जन्म उल्लेख गरेर दावाले २०१८ अगस्ट २५ मा बेल्जियमबाट राहदानी लिएको देखिन्छ । २०२५ अगस्ट २४ सम्म अवधि रहे पनि बेल्जियमबाटै २०२३ जनवरी ४ मा उनले पुनः अर्को राहदानी लिएका थिए । दावाले सन् २०२२ डिसेम्बर १७ मा बेल्जियमबाट नेपाल आउँदा बेल्जियन राहदानी प्रयोग गरेका थिए ।
दावा पछिल्लो पटक गत वैशाख ५ मा नेपाली राहदानी प्रयोग गरेर चीनको छेन्दु पुगेका थिए । पछिल्लो पटक सुन तस्करी हुँदा काठमाडौंमै रहेका चिनियाँ नागरिक जेक्युयाङ लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीनको छेन्दु भाग्न लागेका बेला अध्यागमन कक्षबाट पक्राउ परेका थिए । तस्करीको सुन भारतसम्म पुर्याउन व्यवस्थापकका रूपमा खटिएका तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लाजिम्पाटबाट समातिएका थिए । यी तीनै जना तस्करीको सुन काठमाडौंमा व्यवस्थापन गरेर भारत पठाउने योजनामा एउटै गिरोहमा सामेल रहेको अनुसन्धानमा संलग्न अधिकारीको भनाइ छ । यही प्रकरणमा तानिएका व्यापारी राकेशकुमार अडुकिया फरार छन् ।
दावा नेपालका विभिन्न राजनीतिक व्यक्ति र सुरक्षा अधिकारीहरूसँग पनि सम्पर्क र चिनजानमा रहेको देखिन्छ । उनले माओवादी नेता वर्षमान पुन र पूर्वसभामुखसमेत रहेकी पुन पत्नी ओनसरी घर्तीसँग विगतमा भेटेका तस्बिर सार्वजनिक भएका छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालसँग खिचेको तस्बिर पनि सार्वजनिक भएको छ । दावा पत्नी अमला माओवादी कार्यकर्ता हुन् । हाल काठमाडौं–रोल्पा सम्पर्क मञ्चकी उपाध्यक्ष रहेकी अमलामार्फत नै दावाले विगतमा उच्च पदस्थसँग भेटेको खुलेको छ ।
पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता वर्षमान पुनले अमला सहिद पत्नी र जिल्लाकी चेली भएको र उनले चिनियाँ नागरिकसँग दोस्रो विवाह गरेको उल्लेख गर्दै सार्वजनिक भएका तस्बिर ‘पारिवारिक जमघट’ का रूपमा मात्रै रहेको स्पष्टीकरण दिए । ‘दावा छिरिङलाई म चिन्दिन थिएँ । हाम्रै जिल्ला (रोल्पा) की अमला रोकाले उनीसँग विवाह गरेकी रहिछन् । अमला जनयुद्धमा हिँडेकी बहिनी पनि हुन् । जनयुद्धकै बेला अमलाका श्रीमान् (सुजनप्रकाश) को मृत्यु भएको हो । पछि चिनियाँसँग दोस्रो विवाह गरिछिन्,’ नेता पुनले कान्तिपुरसँग भने, ‘त्यही क्रममा उनी चिनियाँ ज्वाइँलाई लिएर मेरो डेरामा आएका बेला खिचिएको तस्बिर हो, यो विषयलाई सुन तस्करसँग भेट भयो भनेर उचाल्न आवश्यक छैन ।’
नेता पुनले सुन तस्करी प्रकरणमा संलग्नलाई दबाब, प्रभाव र हस्तक्षेपबिना कारबाहीको दायरामा ल्याउनुपर्नेमा आफू स्पष्ट रहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भ्रष्टाचारको अनुसन्धानमा दबाब–प्रभाव नहुने स्पष्ट पारिसकेकाले यसमा शंका नगर्न उनले आग्रह गरे ।
प्रहरीले २०७९ साउन ९ मा भियानाको पाँचौं तलामा छापा मारेर कल सेन्टरमा प्रयोग गरिएका उपकरण बरामद गरेको थियो । त्यति बेला चार चिनियाँ नागरिक पक्राउ परेका थिए । त्यस घटनामा पनि दावा र उनकी पत्नी अमला जोडिएकी थिइन् । तर दुवैलाई प्रतिवादी नबनाई मुद्दा अदालतमा पुर्याइएको थियो । दावाको नागरिकता र राहदानी शंकास्पद भएको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले डीएसपीको नेतृत्वमा टोली खटाएर काभ्रेबाट जारी नागरिकताबारे अनुसन्धान गरेको थियो । तर निमाका नाममा नागरिकता दिन सिफारिस गर्नेको विवरण प्रशासनको ढड्डाबाट गायब पारिएको थियो । त्यसबारे ब्युरोले थप अनुसन्धान गरेको छैन ।
यसअघि २०७६ पुस ७ मा प्रहरीले राजधानीका विभिन्न स्थानमा छापा हानेर अवैध कल सेन्टर सञ्चालन गर्ने १ सय २२ चिनियाँलाई पक्राउ गरेको थियो । त्यो धन्दामा उनै दावालाई मुख्य योजनाकारमध्ये एक मानिएको थियो । तर नेपालका राजनीतिक र प्रशासनिक तथा सुरक्षा अधिकारीसँगको सम्बन्धकै कारण उनलाई मुद्दा नचलाई भगाइएको एक प्रहरी अधिकारीले जानकारी दिए ।
एक सुरक्षा अधिकारीका अनुसार नेपालमा विभिन्न किसिमका अपराधको अखडा बनाउन चिनियाँ गिरोह भित्र्याउने भूमिका पनि दावाकै रहेको देखिन्छ । भियाना र चिनियाँ बस्ने ठमेलका अरू सेल्टरमा कुनै न कुनै रूपमा अपराध धन्दा चलेकै हुने र बेलाबखत सुरक्षा कारबाहीपछि सुस्ताएजस्तो देखिए पनि पुनः सलबलाउने गरेको ती अधिकारीले बताए । पछिल्लो पटक भन्सार जाँचपास गरी बाहिरिएको तस्करीको सुनको एउटा सेल्टर भियाना नै भएको र दावाको सुन तस्करसँग सम्पर्क देखिएको उनको भनाइ छ । ‘सुन प्रकरणबाहेक दावामाथि अपराधबाट आर्जित धनले पत्नी अमलाका नाममा होटल, रेस्टुराँ र अन्य व्यवसायमा साझेदारी गरेको आशंका छ,’ उनले भने ।
बूढानीलकण्ठस्थित रोयल स्यान्ड्स होटलमा मञ्जिल र अमला सेयरधनी छन् । ओरिएन्टल इन्टरनेसनल अनलाइन र रोयल स्यान्ड्स टेक इन्टरनेसनल पनि अनलाइन जुवा खेलाउनकै लागि खोलिएका कम्पनी हुन् । यसमा पनि पत्नी अमलालाई दावाले साझेदार बनाएका छन् । ब्लु स्काई र स्काई वर्ल्डमा पनि अमलालाई उनले साझेदार बनाएका छन् । यो लगानी अनुसन्धानको विषय रहेको एक प्रहरी अधिकारीले बताए । ‘पर्दा पछाडि बसेर अपराधबाट आर्जन गर्ने र पत्नीका नाममा खोलिएका कम्पनीमा लगानी गर्ने उनको उद्देश्य देखिन्छ,’ उनले भने ।
दावा बेल्जियमकै राहदानीबाट विद्यार्थी भिसासमेत लिएर नेपालमा बसेका थिए । सन् २०१९ फेब्रुअरी १२ मा बेल्जियमबाट काठमाडौं आएका उनले विद्यार्थी भिसा सकिएपछि पर्यटकमा रूपान्तरण गरेका थिए । उनी २०१९ मार्च १७ र २०२० मे १३ मा भर्ना भएको विश्वभाषा क्याम्पसको अभिलेखबाट खुलेको छ । उनी पछिल्लो पटक सन् २०२२ मा नेपाली भाषा अध्ययन गर्न भर्ना भएका थिए । विद्यार्थी भिसा सकिएपछि पर्यटकमा रूपान्तरण गरेर उनी थप समय नेपाल बसेका थिए ।
सुन तस्करी प्रकरणमा चार तहको अनुसन्धान
सिनामंगल सडकमा दुई साताअघि बरामद एक क्विन्टल सुनको कारोबार सञ्चालन पहिचान गर्न राजस्व अनुसन्धान विभागले चार तहमा अनुसन्धान अघि बढाएको छ । हङकङबाट सुन भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आन्तरिक व्यवस्थापन, भन्सार जाँचपासपछि गोदामसम्म, गोदामबाट बिक्री योग्य बनाउन गरिने प्रयत्न र मुख्य कारोबार सञ्जाल (बिजनेस च्यानल) मा केन्द्रित रहेर विभागले अनुसन्धान गरिरहेको हो ।
विभागका महानिर्देशक नवराज ढुंगानाले तस्करहरूले एउटा तहमा काम लगाएको मान्छेलाई अर्को तहमा संलग्न नगराउने भएकाले फरक–फरक तहमा अनुसन्धान गरिरहेको जानकारी दिए । ‘जुन मान्छेको भूमिका जहाँसम्म हुन्छ, त्यसलाई त्यहींसम्म अनुसन्धान गरेर अर्को च्यानलमा प्रवेश गर्नुपर्छ,’ उनले भने, ‘सुन हङकङबाट एयरपोर्ट र एयरपोर्टबाट गेट बाहिरसम्म कसरी आयो, त्यसको खोजीमा अनुसन्धान केन्द्रित गरेका छौं ।’ विभिन्न तहमा अनुसन्धान गर्ने क्रममा एयरपोर्टको गेटदेखि ठमेलको भियाना होटलसम्म पुगेको पनि ढुंगानाले जानकारी दिए ।
विभागले पहिलो तहमा हङकङबाट सामान लोड गरेदेखि भन्सार गेटबाहिर पुर्याउनुअघिसम्म सुनको जाँचपासमा संलग्न आशंका गरिएका कार्गो व्यवसायी, भन्सार कर्मचारी, एजेन्ट र आयात फर्मलाई अनुसन्धान गरिरहेको छ । यस्तै सुन गेट बाहिर निकालेपछि ट्याक्सीमा राख्ने क्रममा सिनामंगल सडकबाट गोदामको व्यवस्थापनसम्मलाई एउटा तह मानेर ट्याक्सी चालक, गोदाम व्यवस्थापकलाई केन्द्रमा राखेर अनुसन्धान हुँदै छ । व्यवस्थापन गर्ने व्यक्तिको खोजीका क्रममा भारतीय, चिनियाँ र बेल्जियमका नागरिक पक्राउ परेका हुन् ।
तेस्रो तहमा ब्रेक सुमा रहेको सुनलाई बजारमा बिक्रीयोग्य बनाउने भूमिका रहेका व्यक्तिको खोजी भइरहेको विभागले जनाएको छ । सुनलाई ब्रेक सुबाट छुट्याउने, बजारले मागेको साइजमा लैजाने, गुणस्तर जाँच गर्ने जस्ता काममा यो तहको अनुसन्धान केन्द्रित छ । चौथो तहमा सुन नेपालमा बिक्री हुन्छ कि भारत वा अन्य मुलुकमा लगिन्छ भनेर अनुसन्धान अघि बढाइएको विभागका एक अधिकारीले जानकारी दिए । उनका अनुसार व्यापारी राकेशकुमार अडुकियाको भूमिका चौथो तहमा खोज्ने रणनीति छ । ‘सुन बिक्री हुने स्थान पत्ता लागेपछि खास व्यक्तिसम्म पुग्ने आधार फेला पर्नेछ,’ ती अधिकारीले भने ।
सुन तस्करीको ‘कनेक्सन’ खोज्ने क्रममा तीन विदेशीसहित १८ जना पक्राउ परिसकेका छन् । पहिले पक्राउ परेका केहीको बयान र फोन सम्पर्कका आधारमा अरू पक्राउ पर्दै गएका हुन् । पछिल्लो पटक शनिबार राति ठमेलको भियाना होटलबाट तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरिएको छ । नेपाली राम्रोसँग बोल्ने दावा लामो समयदेखि ठमेलमा घर भाडमा लिएर होटल सञ्चालन गर्दै आएका थिए । दावाले सुन तस्करीमा व्यवस्थापकीय भूमिका निर्वाह गरेको अनुमान राजस्वले गरेको छ । पक्राउ परेका तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक जेक्युयाङ लीनबीच पारिवारिक सम्बन्ध रहेको देखिएको छ । थुप्तेन लामो समयदेखि नेपाल बस्दै आएका थिए । विभागले केही नेपाली व्यापारीमाथि पनि निगरानी गरिरहेको जनाएको छ ।
महानिर्देशक ढुंगानाका अनुसार अहिले पक्राउ परेकामध्ये केही आपसमा कतै न कतै जोडिएको देखिन्छ । ‘हामीले प्रमाण र तथ्यका आधारमा मान्छे पक्राउ गरेका हौं,’ उनले भने, ‘अहिले पक्राउ गरिएका मान्छेबाट धेरै विषय खुल्ने अपेक्षा छ ।’ उनले सुन तस्करीसम्बन्धी प्रतिवेदन रहस्यमा नै रहने खालको नहुने दाबी गरे । महानिर्देशक ढुंगानाका अनुसार यसमा अनुसन्धान गर्ने समय ९० दिनसम्म हुन्छ । उनले नेपालमा भित्रेको सुन कहाँ जान्छ र असली रूपमा कसले परिचालन गरेको छ भन्ने पत्ता लगाउन अनुसन्धान भइरहेको जानकारी दिए । विभागका अधिकारीहरू गिरोहले अन्य व्यापारसँगै सुन तस्करी गरेको अनुमान गर्छन् ।
‘सुन मात्रै तस्करी गरेको हो भने नेपालीले यति ठूलो काम गर्ने हैसियत राख्दैनन्, नेपाली मध्यस्थकर्ता मात्र बन्न सक्छन्,’ विभागका अर्का एक अधिकारीले भने, ‘अरू पनि बिजिनेश जोडिएको भए आर्थिक क्षेत्रमा सोचेभन्दा ठूलै नकारात्मक परिणाम निस्कन सक्छ । नेपालीले तस्करी गरेको देखियो भने मुलुकको आर्थिक अवस्थालाई नै असर पार्न सक्छ ।’
विभागले साउन २ मा बरामद गरेको करिब एक क्विन्टल सुन राष्ट्र बैंकलाई बुझाएको छ । त्यति बेला सुनसहितको १ सय ५५ किलो ‘ब्रेक सु’ विमानस्थल भन्सारबाट जाँचपास भएको थियो । बरामद ब्रेक सु रेडी ट्रेडका नाममा असार २९ मा हङकङबाट ल्याइएको थियो ।
