अध्यक्षको स्वकीय सचिव हुन् कि मेरा, कसैले पोल्छ भने बयान दिनुपर्छ : भट्टराई

काठमाडौँ — नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कानुनभन्दा माथि कोही पनि नभएको भन्दै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न जोसुकै भए पनि प्रहरीमा गएर बयान दिनुपर्ने बताएका छन् । उनले उक्त प्रकरणमा नाम जोडिएको भएमा जोसुकै व्यक्ति भए पनि प्रहरीकहाँ गएर आफ्नो बयान प्रस्टसँग भन्नुपर्ने धारणा राखेका छन् । 

अध्यक्षको स्वकीय सचिव हुन् कि मेरा, कसैले पोल्छ भने बयान दिनुपर्छ : भट्टराई

तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र सल्लाहकार अयजक्रान्ति शाक्यले पैसा लिएको सार्वजनिक भएको सन्दर्भमा एमाले सचिव भट्टराईले यस्तो अभिव्यक्ति दिएका हुन् ।

संघीय संसद् भवन परिसरमा बुधबार सञ्चारकर्मीसँग कुरा गदै भट्टराईले नक्कली शरणार्थी प्रकरणमा जोडिएका व्यक्तिले सहयोग गर्नुपर्ने बताएका हुन् ।

'हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले प्रस्ताव पास गरेर के भनेको छ भने हाम्रै पार्टीका पनि जोसुकै नेता परुन्, त्यसमा हामी छानबिनका लागि सहयोग गर्न तयार छौं भनेर भनेका छौं । हाम्रो पार्टीसँग जोडिएका हुन्, हाम्रो पार्टीका नेताहरूसँग जोडिएका हुन् । जोसुकै भए पनि यदि प्रहरीले उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकाल्यो भने उनीहरूले गएर प्रहरीलाई छानबिनका लागि सहयोग गर्नुपर्छ,' उनले भने,'यदि मेरो नाम कसैले लिएका छन् र, त्यसमा मेरो संलग्नता छ कसैले भन्यो भने मलाई प्रहरीले बोलाउनु पर्दैन । म आफैं प्रहरीकोमा बयान दिन जान्छु ।'

उनले भने, 'अध्यक्षका स्वकीय सचिव हुन् कि मेरो स्वकीय सचिव हुन् कि म नै भए पनि, मलाई कसैले पोल्छ भने प्रहरीले मलाई सूचना गरिदिए हुन्छ । तपाईंको नाम आएको छ, के गरौं ? भन्यो भने म थपक्क गएर बयान दिएर आउँछु । किनभने म नागरिक हो । नागरिकचाहिँ कानुनभन्दा माथि कोही पनि हुँदैन ।'

सांसद भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरको नाम आएको विषयमा पनि आफ्नो धारणा राखेका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि अनुसन्धानलाई सहयोग गर्न कुँवरलाई सुझाव दिए । प्रहरी महानिरीक्षक कुँवरले आफ्नो विषयमा कुरा स्पष्ट गर्नुपर्ने उनको भनाइ थियो ।

भट्टराईले भने, 'अहिले त नेपाल प्रहरीको आईजीपीकै नाम आएको छ । आईजीपी सा'बले पनि आएर बयान दिनुपर्छ । म त भन्छु– बसन्त कुँवरजीलाई यदि तपाईंको संलग्नता छैन भने तपाईंमाथि उठेका प्रश्न क्लिएर गर्नुस्, त्यहाँ बयान दिन जानपर्ने अवस्था छैन भने पत्रकार सम्मेलन गरेर तपाईंले प्रस्ट पार्नुस् ।’

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले छानबिन गर्न नेपाल सरकारलाई पार्टीले भनेको कुरा पनि सचिव भट्टराईले बताए । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरीलाई पनि सोही कुरा भनिएको भट्टराईको भनाइ थियो ।

कानुनभन्दा माथि कोही पनि नरहेको भट्टराईको भनाइ थियो । कानुनभन्दा माथि कोही नहुने शासन नेपालमा स्थापना गरिएको उनले बताए । 'कानुनभन्दा माथि हुने शासन त हामीले २०४७ सालमा फाली सकेको हो नि ! त्यसपछि राजा ज्ञानेन्द्रले एक पटक कानुनभन्दा माथि हुन खोजेका थिए, उनलाई कानुनभन्दा माथि मान्दैनौं भनेर नारायणहिटीबाट नागार्जुन पठाएको होइनौं त ?,' उनले भने, 'कानुन भन्दामाथि को छ यो देशमा, कोही पनि छैन । त्यसकारण सबैमाथि छानबिन हुन्छ, हुनुपर्छ । एमालेले पूरा साथ दिन्छ । ढुक्क भए हुन्छ । प्रहरीले बोलायो भने भाग्ने होइन । कोही पनि भाग्नु हुँदैन । त्यहाँ गएर बयान दिने, आफ्नो संलग्नता छैन भने प्रस्ट कुरा भन्नु पर्छ ।'

कसैले नाम पोलेको आधारमा नै अपराधी नहुने भएकाले छानबिनमा सहयोग गर्नुपर्ने भट्टराईको भनाइ थियो । उनले प्रहरीमाथि कुनै पनि दबाब हुन नहुने बताए ।

प्रकाशित : जेष्ठ १०, २०८० १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?