टेकनाथ रिजालले ३४ नक्कली कार्डमा सहीछाप गरे, ११ लाख नगद बुझे

जेष्ठ १०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — भुटानी मनावअधिकारवादी नेता टेकनाथ रिजालविरुद्ध नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले चारवटा मुख्य अपराधमा आरोपी बनाउँदै अभियोगपत्र दायर गरेको छ । सार्वजनिक भएको अभियोग पत्रअनुसार रिजाललाई ठगी, सरकारी लिखत किर्ते, राज्य विरुद्धको कसुर र संगठित अपराधमा आरोपी बनाइएको छ ।

अभियोग पत्रका अनुसार नेता रिजालले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाउनकै लागि तयार पारिएको केही थान 'भूटान ह्युमन राइट अर्गनाइजेसन' को सदस्य कार्डमा आफूले सहीछाप गरेको स्वीकार गरेका छन् । साथै रिजालको यस प्रकरणमा मुख्य आरोपी रहेका केशव दुलाललगायतसँग रकम लेनदेन भएको पनि देखिएको पत्रमा दाबी गरिएको छ ।  

टेकनाथ रिजालविरुद्ध अभियोग पत्रमा उल्लेखित विवरण:

प्रतिवादी मध्येका टेकनाथ रिजालले बयानको क्रममा नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी पीडितहरुबाट रकम लिने कार्यमा प्रतिवादीहरु केशवप्रसाद दुलाल, सानु भण्डारी, रामशरण के.सी., प्रेमराज पन्थी, ईन्द्रजित राई र टोपबहादुर रायमाझी शुरु अवस्था देखि नै संलग्न छन् भन्ने आफूलाई थाहा भएको भनी खुलाएको, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दुलालबीच टोपबहादुर रायमाझीकै घरमा भेट भई नेपालीहरुलाई नक्कली भुटानी बनाई अमेरिका पठाउने बारेमा छलफल र कुराकानी भएको; ५/६ वर्ष पहिले राम शरण के.सी. मेरो आफ्नै घरमा गई नेपालीहरुलाई नक्कली भूटानी बनाई अमेरिका लैजाने योजना बारेमा जानकारी दिएको सो को लागि मद्दत माग्न आएका भन्ने खुलाएको, रामशरण के.सी.लाई भेषराज शर्मा लम्साल र केशव दुलालसँग चाहबेलको एवान पार्टी प्यालेसमा भेट गराई दिएको भनी खुलाएको; राम शरण के.सी.लाई टेकनाथ रिजालले प्रतिवादी केशव प्रसाद दुलाल र भेषराज लम्सालसँग भेट गराई निज टेकनाथ रिजालले अब काम हुन्छ भुटानी शरणार्थी बनाई अमेरिका लगिदिने सम्पुर्ण कार्य वहाहरुले गर्नु हुन्छ भनी ग्यारेण्टी गरेको; मिति २०७६ असार / श्रावणमा आफ्नो र आफ्नो चिनजानका ३४ जना व्यक्तिहरुको भुटानी शरणार्थी कार्ड ( परिचय पत्र ) 'भूटान ह्युमन राइट अर्गनाइजेसन', सदस्य कार्ड बनाई सो कार्डमा टेकनाथ रिजालले सहिछाप गरी दिएको भनी खुलाएको र सो कुरा टेकनाथ रिजालले स्वीकार गरी बयान गरेको; निज प्रतिवादी टेकनाथ रिजाल, केशव प्रसाद दुलाल र इन्द्रजित राईको फोटो मिसिल संलग्न देखिनु, निज प्रतिवादी टेकनाथ रिजाललाई गौशाला स्थित रहेको प्रतिवादी केशव प्रसाद दुलालले नक्कली भूटानी शरणार्थी बनाउने कार्यका लागी फारम भर्ने र बायोमेट्रिक गर्ने कार्यका लागी बुक गरेको रोजस्टार होटलमा ३/४ दिन सम्म राखेको; निज प्रतिवादी राम शरण के.सी.बाट प्रतिवादी टेकनाथ रिजालले रु.११,००,०००/- (एघार लाख) नगदै निजको घर झापामा लिएको हो भनी प्रतिवादी राम शरण के.सी.ले खुलाई लेखाई दिएको साथै प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा यी प्रतिवादी टेकनाथ रिजालको लागी खर्च भएको भनी विवरण फेला परेको; जिल्ला झापा खुदुनाबारी-४ बस्ने सुमित्रा पौडेललाई प्रतिवादी टेकनाथ रिजालले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउनको लागी सानु भण्डारी र केशव प्रसाद दुलालसँग भेट गराई दिई रकम समेत दिएको र लामो समय सम्म काम नभएकोले कामको लागी प्रतिवादी टेकनाथ रिजाललाई ताकेता गरेको भन्ने निजै सुमित्रा पौडेले खुलाई लेखाई दिएको समेतका आधार कारणबाट यी प्रतिवादी टेकनाथ रिजाल पनि प्रतिवादीहरु ईन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, टेक नारायण पाण्डे, टोप बहादुर रायमाझी, राम शरण के.सी. समेत सँग मिलेमतो गरी संगठित तवरले पीडित जाहेरवालाहरुलाई ठगी गर्ने कार्य गर्नुका साथै नेपालमा लामो समय सम्म भुटानी शरणार्थीको रुपमा बसी नेपाल सरकारबाट सेवा सुविधा समेत लिई नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई तेश्रो मुलुकमा पठाई दिन्छु भनी ठगी कार्य गरेबाट नेपाल राष्ट्रको हितको प्रतिकुल हुने काम समेत गरेको देखिदा यी प्रतिवादी टेकनाथ रिजालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने समूहमा आवद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करौडौं रकम उठाई पीडितहरुलाई हानी नोक्सानी पुऱ्याई ठगी गरी लाभ लिई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसूर गरेको पुष्टि हुन आयो ।

यी प्रतिवादी टेकनाथ रिजालले बालकृष्ण पन्थी संयोजक रहेको भुटानी शरणार्थी समस्याको स्थायी र दिर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलको प्रतिवेदन २०७६ मा ४२९ जना छुट भएका भुटानी शरणार्थी भनी उल्लेख भएकोमा सो प्रतिवेदनका आधारमा गैर भुटानी शरणार्थीलाई अमेरिका पठाउन सम्भव नभएको हुँदा करौडौ रकम आर्जन उद्देश्यले प्रतिवादीहरुले एक आपसमा मिलोमतो गरी बालकृष्ण पन्थी संयोजक रहेको सक्कली प्रतिवेदनलाई गृह मन्त्रालयका तत्कालिन सचिव रहेका प्रतिवादी टेकनारायण पाण्डे मार्फत बाहिर ल्याएर सो प्रतिवेदनको पृष्ठ ३ को ६ नं. बुँदामा अन्तिम वाक्यको व्यहोरा थप गरेको, पृष्ठ १० को २.५ नं. बुँदामा फरक व्यहोरा देखिएको, पृष्ठ नं.१३ को क्र.नं., (क.अ.) नं. १४ को ग.नं.को दोश्रो पारा, पृष्ठ १६ को ३.६,३.६.१ र ३.६.२ पृष्ठ नं.१७ र पृष्ठ नं.१८ को निष्कर्षमा व्यहोरा फेरबदल गरी गृहमन्त्रालयमा सक्कल प्रतिवेदनका ठाउँमा नक्कली प्रतिवेदन राखी भुटानी शरणार्थीका नाममा नेपाली नागरिकलाई परिचर पत्र जारी गी लिखत किर्ते, संगठित अपराध र ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको र नक्कली प्रतिवेदन तथा भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाई लिखत किर्तेको कसूर समेत गरेको देखिदा निज प्रतिवादी टेकनाथ रिजालले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिम सरकारी लिखत किर्तेको कसूर गरेको पुष्टि हुन आयो ।

त्यसै गरी प्रतिवादी टेकनाथ रिजालले आफूलाई लाभ पुऱ्याउने र अकुत सम्पत्ति कमाउने उद्देश्यले राष्ट्रहित प्रतिकूल काम गरेको र निजहरुले गरेको उक्त कसूरले नेपालको स्वाभिमान तथा अन्तर्राष्ट्रिय छविमा आँच आएको र नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा हेर्ने दृष्टिकोणमा समेत आँच आउने गरी राष्ट्रको साख गिराउने कार्य समेत गरेकोले निज प्रतिवादी टेकनाथ रिजालले राष्ट्रहित प्रतिकूल काम गरेको देखिदा मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) र उपदफा (७) बमोजिम राज्य विरुद्धको कसूर गरेको देखिन्छ ।

प्रस्तुत मुद्दामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी योजना बनाई भुटानी शरणार्थीको नक्कली कार्ड समेत बनाई बहालवाला गृहमन्त्री, गृह सचिव, सुरक्षा सल्लाहाकार, गृहमन्त्रीका निजी सचिव समेतलाई करोडौं रुपैयाँ नगद उपहार दिई सो क्षेत्रका विशेषज्ञहरुलाई अपराधिक समूहको संगठनमा मिसाई श्रेणीबद्ध संरचना तयार गरी संगठित अपराधिक क्रियाकलापमा लागेका सदस्यहरुको कामको जिम्मेवारी बाँडफाँड गरी तहगत आधारमा सबै भन्दा माथि अपराधको नाईकेका रुपमा प्रतिवादीहरु सानु भण्डारी र केशव दुलाल, ईन्द्रजित राई, सन्दिप रायमाझी, प्रतिक थापा बसेर त्यसपछिको Layer मा सो कार्यलाई कार्यान्वयन गर्ने प्रतिवादीहरु सन्देश शर्मा, आङटावा शेर्पा, निरज राई, टंक कुमार गुरुङ, सागर राई रही त्यस मुनी कार्यदल बनाउने नीति नियम बनाउने प्रतिवादीहरु टेक नारायण पाण्डे, नरेन्द्र के.सी., टोप बहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनाथ रिजाल र शम्सेर मियाँ समेतले नीतिगत रुपमा प्रभाव पार्ने कार्य गरी संगठित रुपमा ठगीको रकम उठाउने अपराधिक कार्यमा प्रतिवादीहरु रामशरण के.सी., राजेश अर्याल, बिक्रम भन्ने गोविन्द चौधरी, सुनिल बुढाथोकी, निरन्जन कुमार पोखरेल, धिरेन राई, मोहन राज राई, अशोक पोखेरल, सागर राई, दिपा हुमागाञी, विनिता साङदेन लिम्बु, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अर्याल समेतले ठगीको रकम संकलन गरी आपराधिक लाभका लागी रकम उठाउने कार्य गरी तहगत संरचनाको आधारमा गोप्य ढंगले आ-आफ्नो भूमिका निर्वाह गरी संगठित अपराध समेत गरेको देखिदा निज प्रतिवादी टेकनाथ रिजालले संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), (२), (३) को खण्ड (क) तथा दफा ५ बमोजिमको संगठित अपराधको कसूर गरेको पुष्टि हुन आयो ।

प्रतिवादी टेकनाथ रिजाल समेतले समेतले नियोजित र संगठित रुपमा समूहमा आवद्ध भई एकै वारदातमा एकभन्दा बढी कसूर गरी एकिकृत कसूर समेत गरेको देखिदा निज प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिम कसूर गरेको स-प्रमाण पुष्टि हुन आएकोले कसुर ठहर हुन अभियोग मागदावी लिईएको छ ।

नक्कली शरणार्थी प्रकरण

कान्तिपुर

Link copied successfully