कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपराधमा संलग्न घरको होस् कि बार्दलीको, नेता होस् कि नाता कारबाही हुनुपर्छ : थापा 

'अनुसन्धान भएन, मैले गरिनँ भनेर भन्ने कुराले कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन । सरकारको परीक्षा पनि छ । सरकारको परीक्षा सकिएपछि अब न्यायालयको परीक्षा सुरु हुन्छ । न्यायालयले पनि यो विषयमा मैले न्याय गरेँ भनेर मात्र पुग्दैन । न्यायको अनुभूति हुनुपर्छ ।'

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा संलग्न जोसुकै भए पनि कारबाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले नेता र नाता नहेरी छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेका हुन् ।

अपराधमा संलग्न घरको होस् कि बार्दलीको, नेता होस् कि नाता कारबाही हुनुपर्छ : थापा 

नक्कली शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा चलिरहेको सांसद थापाको भनाइ थियो । सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने र न्यायालयले न्याय गरेको अनुभूति गराउनुपर्ने बताए ।

‘नक्कली शरणार्थीमा जसरी नामहरू अहिले जसरी आउन थालेको छ, एकप्रकारले लाजपनि लजाएको जस्तो भएको छ । को-को परेको हो ? को-को नपरेको हो ? सुन्दासुन्दै, बुझ्दै जाँदाखेरी हाम्रो वरिपरि भएका, हामीले देखिरहेका, जिम्मेवारी लिइरहेका मानिसहरू एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने जस्तो लाग्न थालेको छ । तर यसमा सरकारको परीक्षा हेर्नुछ । परीक्षा छ । अनुसन्धान कसरी भइरहेको छ, सबै नागरिकले हेरिरहेका छन्,' उनले भने, 'चाहे त्यो सलाम गर्ने मान्छे होस्, चाहे त्यो सलामी लिने मान्छे होस् । जसलाई छोएको छ, जसको नाम आएको छ । त्यसको फेयर अनुसन्धान हुनुपर्छ । अनुसन्धान भएन, मैले गरिनँ भनेर भन्ने कुराले कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन । सरकारको परीक्षा पनि छ । सरकारको परीक्षा सकिएपछि अब न्यायालयको परीक्षा सुरु हुन्छ । न्यायालयले पनि यो विषयमा मैले न्याय गरेँ भनेर मात्र पुग्दैन । न्यायको अनुभूति हुनुपर्छ ।'

नक्कली भुटानी शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध भएको भन्दै त्यसमा संलग्न मान्छेलाई कारबाही गर्नैपर्ने थापाको जोड थियो । उनले भने, 'यो राज्यविरुद्धको अपराधमा संलग्न भएको एक एक मान्छे चाहे त्यो घरको मान्छे होस्, चाहे त्यो बार्दलीको मान्छे होस् । चाहे त्यो नेता होस् । चाहे त्यो नाता होस् । सलाम गर्ने होस् । सलामी लिने होस् । एकजना मान्छेपनि छुट्नु हुँदैन । दूधको दूध पानीको पानी हुनुपर्छ । आम नेपाली नागरिकले चाहेको कुरा यही हो ।’ नक्कली शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानलाई आम नागरिकले हेरिरहेको पनि थापाले बताए ।

सांसद थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार न्यूनिकरण हुने पनि बताए । भ्रष्टाचार नियन्त्रणका लागि केवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने उनको भनाइ थियो । उनले यसका लागि लोकसेवा आयोगको भूमिका बढाउनेदेखि स्वार्थको द्वन्द्वको कानुन, संवैधानिक निकायको नियुक्तिलगायतको विषयलाई पनि एक ठाउँ जोडेर राख्नुपर्ने धारणा राखे ।

‘लोकसेवा आयोगको भूमिका बढाउनेदेखि लिएर प्रदेशलाई सञ्चालन गर्ने कुरासँग स्वार्थको द्वन्द्वको कानुनदेखि लिएर संवैधानिक निकायका नियुक्तिसम्मका विषयहरू एक ठाउँ जोडेर राख्यो भने मात्रै हामीले यो नीतिबाट भ्रष्टाचार न्यून गर्छौं,' उनले भने ।

नीति तथा कार्यक्रम प्रभावकारी नभएको पनि सांसद थापाको भनाइ छ । उनले भने, 'म सरकारको ध्यानाकर्षण गराउँछु यो वर्ष यसरी नै आयो, यसरी नै लियौँ । तर अर्को वर्ष पनि निति कार्यक्रम यसरी नै आउने हो, बजेटको सिद्धान्तमाथि छलफल यसरी हुने हो भने मैले अन्य माननीयहरुलाई पनि आग्रह गर्छु, त्यस्तो बजेटको सिद्धान्तको छलफलमा भाग नलिउँ । सरकारको पनि समय बर्बादी हुन्छ । हाम्रो पनि समय बर्बादी हुन्छ । यसलाई बदल्नुपर्छ । बदल्ने तरिका छ । बदल्ने तरिका हामी मिलेर बदल्ने हो ।'

प्रकाशित : जेष्ठ १०, २०८० १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?