१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
नक्कली शरणार्थी प्रकरण

रास्वपाले गर्‍यो संसदीय छानबिनको माग

काठमाडौँ — प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले समय लिएर बोल्दै यो प्रकरण निष्पक्ष अनुसन्धान र अभियोजनमा आशंका उत्पन्न भएकाले संसदीय छानबिन आवश्यक रहेको बताए ।

रास्वपाले गर्‍यो संसदीय छानबिनको माग

उनले प्रकरणमा जोडिएका व्यक्तिहरुलाई सोधपुछसमेत नहुनुले गम्भीर आशंका उत्पन्न भएको उल्लेख गरे ।

'यो काम अँध्यारो कोठा र गल्लीमा भएको भएको थिएन, बालुवाटार र सिंहदरबारमा बसेकाहरूबाट भएको कुरा आएका छन् । अब संसदीय विशेष समितिको गठन गरेर छानबिन गर्नुपर्छ । ज-जसको आएको छ उनीहरुलाई सोधपुछ हुनपर्‍यो। सोधपुछका लागि एक पटक बोलाउन नहुने के हो,' लामिछानेले भने ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण मिलाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद खनालले कुनै बहाना नगरी उक्त प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त प्रकरणको छानबिन भ्रष्टाचारविरुद्धको फिल्मको ट्रेलर भएको र पूरै फिलिम हेर्न बाँकी रहेको भन्ने अभिव्यक्ति उल्लेख गर्दै सांसद खनालले संलग्न सबैलाई कारबाही गर्न माग गरेका हुन् ।

'भुटानी शरणार्थी प्रकरणमा ब्लकबस्टर फिलिम नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनु भएको ट्रेलरको आधारमा उत्साहित भइयो । तर, यो फिलिमको दृश्य यति काँटछाँट गरिँदै छ कि फिलिम त साह्रै बकबास हुन थालेको छ,' सांसद खनालले माग गरे, 'रास्वपाले यो फिलिम हेरेर बस्दैन । आईजीपी, पूर्व सचिव, पूर्वमेयर र पूर्व प्रधानमन्त्रीको सचिवको समेत नाम जोडिएको छ । नो इफ नो बट सबैमाथि तुरुन्त कारबाही र छानबिन होस् ।'

प्रकाशित : जेष्ठ १०, २०८० ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?