नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्व विरोध प्रदर्शन गर्ने

वैशाख २८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई छानविन गरी कारबाहीको माग गर्दै सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । सो पार्टीको काठमाडौं जिल्ला कमिटीले बिहीबार दिउँसो ३ बजे काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्न लागेको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारका अन्य काण्डविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेकपा एसले जनाएको छ । यसअघि नेकपा एसका महासचिव घनश्याम भूसालले विज्ञप्तिमार्फत् भ्रष्टाचारका विरुद्व देशभर विरोध प्रदर्शन गर्न निर्देशन गरेका थिए । 

त्यहीअनुसार काठमाडौंमा पनि विरोधको कार्यक्रम हुन लागेको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैधानिक कार्यमा संलग्न गिरोहलाई सहयोग पुर्‍याएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित उच्च पदस्थ व्यक्तिहरुसहित करिब एक दर्जनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

कान्तिपुर

Link copied successfully