'पोस्टपार्टम डिप्रेसन' का बारेमा वकालत जरुरी छ : अधिवक्ता पोखरेल

चैत्र १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — अधिवक्ता सुबेक्ष्या पोखरेल फ्रिडमले आमा बन्ने सबै महिलाहरूमा 'पोस्टपार्टम डिप्रेसन'(सुत्केरीपछि हुने डिप्रेसन)का बारेमा वकालत गर्न जरुरी रहेको बताएकी छिन् ।

बुधबार नारी मासिकले आयोजना गरेको 'निर्भीक नारी' को 'स्वस्थ महिला, सबैभन्दा पहिला' सत्रमा बोल्दै उनले यो एउटा अवस्था भएकाले सबै महिलाले जान्नेपर्ने बताइन् । उनले भनिन् ‘म सुत्केरी भएका बेला यो अवस्था परामर्शले ठीक हुन्छ भनेर कसैले बताएन । मैले गुगलबाट यो कुराको बारेमा जानेँ ।'

ग्रामीण भेगका महिलामा सुत्केरीपछि आउने चिन्ताका बारेमा सचेतना तथा परामर्श कार्यक्रम चलाउनुपर्ने उनको भनाइ छ । उनले भनिन्,  'ग्रामीण भेगमा रहेका इन्टरनेटमा पहुँच नभएका महिलाहरूको अवस्था के होला ?यो एकदम सिरियस इस्यु हो । '

'सुत्केरीका २–३ महिना मैले आमा बन्नै बिर्सिसकेकी थिएँ,’उनले आफ्नो डिप्रेसन चरणको अनुभव सुनाउँदै भनिन्, ,मेरो सर्जरीबाट बच्चा जन्मिएको हो । यहाँ त दूध नआउनु र बच्चाको को दूध खुवाउने आमाले अनेकन सुन्नुपर्ने हुन्छ । बच्चा रुँदा पनि रिस उठ्थ्यो । म रुन्थेँ।’

उनले अरु महिला पनि यसबाट पीडित हुन्छन् भन्ने थाहा पाएपछि राहतको सास फेरेको र अरुलाई पनि यसबारे जानकारी गराउनुपर्छ भन्ने वकालत गर्दै आइरहेको बताइन् ।

उनी नेपालमा कति महिलाहरु पोस्टपार्टम डिप्रेसनबाट गुज्रिरहेका छन् भन्ने अध्ययन नै नभएको बताउँछिन् । 'नेपालमा अध्ययन गरिएको खण्डमा यसको तथ्यांक डरलाग्दो आउँछ,' उनले भनिन्, 'संविधानमा मानसिक स्वास्थ्यका बारेमा कुरा गरिएको छ । निःशुल्क मनोपरोमर्शको बारेमा पनि भनिएको छ तर कार्यन्वयन भएको देखिँदैन ।' 

यसका लागि छुट्टै कानुन नै बनाउनुपर्ने उनको सुझाव छ । उनले भनिन् ‘यसबारे छुट्टै ऐन आवश्यक छ । यससम्बन्धी तालिमप्राप्त छुट्टै जनशक्ति पनि देखिएन । जनचेतनाको आवश्यकता छ । जबसम्म यो समाज र हामीले स्वीकार्दैनौ पोलिसी लेभलमा जान सक्दैन । ’

निर्भीक नारी

कान्तिपुर

Link copied successfully