१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निसन्तान महिलाहरु खुलेर आउन थालेका छन् : शर्मा

काठमाडौँ — प्रजनन विशेषज्ञ डा. स्वस्ति शर्माले पछिल्लो समय निसन्तान महिलाहरुले खुलेर आफ्ना कुराहरु राख्ने गरेकाे बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रममा बोल्दै उनले निसन्तान महिलाहरूलाई प्रयोग गरिनेे नराम्रो शब्द 'बाँझोपन' हटाउनु जरुरी रहेको बताइन् ।

निसन्तान महिलाहरु खुलेर आउन थालेका छन् : शर्मा

'हामी पनि अहिले इन्फर्टिलिटी स्पेसलिस्ट भन्दा पनि फर्टिलिटी स्पेसलिस्ट भन्ने गर्छौं आफैंलाई' उनले भनिन्, 'यो बाँझोपन भन्ने शब्द पनि गलत छ । त्यसलाई परिवर्तन गरेर निसन्तान भनिनुपर्छ भन्ने लाग्छ ।' यस्ता शब्दहरुले ती महिलालाई पीडा पुर्‍याइरहेको उनको भनाइ छ । निसन्तान पुरुषमा पनि देखिने गरे पनि यसको बोझ महिलाले नै बोक्नु परेको उनले बताइन् । तथ्यांकमा निसन्तानपन पुरुषका कारणले पनि हुने गरेको पाइने शर्माको भनाइ छ ।

‍'महिलाहरु निसन्तानपनका समस्या लिएर आउँदा एन्जाइटी, डिप्रेसन, लो सेल्फस्टिम लिएर आएका हुन्छन्' शर्माले भनिन् 'उनीहरुमा फ्रस्टेसन पनि हुन्छ । अहिले त फेसबुकमा बेवी सावर गरेको देख्छन् ।' लामो समयदेखि निसन्तानको समस्याबाट गुज्रिरहेका महिला र पुरुषमा दीघार्यु रोग लाग्ने गरेको देखिएको उनले बताइन् । 'महिला भनेको घरको इन्जिन हो' उनले भनिन् 'महिलाले आफ्नो स्वास्थ्यको कहिल्यै ख्याल पनि गर्नुहुन्न । भान्सामा छिर्नै नसकिने गरेर बिरामी भयो भने मात्र डाक्टरकहाँ पुग्नुहुन्छ ।'

निसन्तान महिलालाई परिवार र समाजले हेर्ने दृष्टिकोणमै फरकपन रहेको शर्माको भनाइ छ । '९ महिनासम्म कोखमा बच्चा राखेर पाइदिनुपर्ने भएर होला निसन्तान महिलालाई हेर्ने दृष्टिकोणमा फरक देख्छु' उनले भनिन् 'नेपालमा महिलाहरु आर्थिक रुपले सबल हुनुहुन्न । अस्पताल आउनलाई पनि परिवारलाई माग्नु पर्ने अवस्था छ ।' कतिपयको घरमा निसन्तान महिलालाई पूजा पाठ हुँदा छुन नदिने, बच्चा पाएको ठाउँमा पुग्दा बच्चालाई छुन नदिने, गर्भपति महिलालाई पनि छुन नदिने जस्ता परिपाटी रहेकाले त्यस्ता कार्यले हिनताबोध थपिने शर्माले बताइन् ।

निसन्तान पुरुषलाई भने परिवारको साथ-सहयोग रहेको शर्मा बताउँछिन् । 'पतिले अर्को बिहे गरिदिन्छ । डाक्टरसाप मलाई जसरी पनि गर्भपति बनाइदिनुस् नत्र अर्को महिना मेरो श्रीमानले अर्को बिहे गरिदिन्छ भन्छन्' उनले भनिन् 'पुरुषमा पनि निसन्तानपन हुन्छ । तर श्रीमतिसँग त्यो कुरा लुकाइदिन अनुरोध गर्न परिवार नै आइपुग्छ ।'

निसन्तानपन दीर्घरोग हो भन्ने विषयलाई अझै समाजले नबुझिदिएको डा. शर्मा बताउँछिन् । 'निसन्तानपन यस्तो रोग हो कि एकै पटकको उपचारले त्यो निको हुँदैन । घाउ खटिरामा मल्हम पट्टी गरेर पठाउँला, तर यसको समस्या समाधान एकै पटक हुँदैन । बारम्बार अस्पताल धाइरहनुपर्छ,' उनले भनिन्,'सरकारले दीर्घ रोग र मुटुको समस्यामा परेकालाई सहयोग गर्छ । तर निसन्तानपन पनि दीर्घरोग हो भन्ने अहिलेसम्म पहिचान भएको छैन ।' नेपालमा निसन्तान केन्द्र खुलेको २० वर्ष भइसक्दा पनि ठोस नीति नबनेको उनले बताइन् ।

सरकारले निसन्तानलाई गम्भीर रुपमा लिइदिएर आईभीएफका लागि प्रयोग हुने औषधिमा छुट गरिदिनुपर्ने उनको भनाइ छ । 'निसन्तानपनमा प्रयोग हुने औषधि र सामान नेपालमा बन्दैन । सबै विदेशबाट आयात गर्नुपर्ने हुन्छ । हामी सोच्छौं, भारतबाट ल्याए भइहाल्थ्यो नि । तर नेपालको कानुन अनुसार जर्मनीबाट भारत, भारतबाट नेपाल ल्याउने व्यवस्था छैन । जर्मनबाट नेपाल ल्याउनुपर्छ' उनले भनिन् 'त्यसो गर्दा भन्सार शुल्क, हवाई शुल्कमै खर्च हुन्छ । तर, सबैभन्दा सस्तो आईभीएफ सुविधा नेपालमै छ । निसन्तापनलाई गम्भीर रुपमा हेरिदिएर सरकारले औषधिको कर छुट गरिदिए यो उपचार सस्तो हुने संभावना छ । यसरी निसन्तान दम्पत्तिले सन्तान पाउँदाको खुसी भने अतुलतीय छ ।'

प्रकाशित : चैत्र १५, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?