कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रगति पथमा महिलाको अग्रसरता

उपासना घिमिरे

हाम्रा प्राचीन धर्मग्रन्थहरुमा निर्भीक, निडर र भयरहित हुनुलाई उच्चतम कोटीमा राखिएको छ । सत्य बोध भएकाहरु मात्र यस श्रेणीमा पर्छन् । खासगरी नारीहरु यसमा पर्छन् । त्यसैले त ती ग्रन्थहरुमा पुरुषको तुलनामा महिलाको स्थान उच्च र सम्मानित छन् ।

प्रगति पथमा महिलाको अग्रसरता

महिलाहरु चाहे उच्च वर्गका होउन् वा निम्न वर्गका, धनाढ्य होउन वा निर्धन, अति शिक्षित होउन वा बिल्कुलै निरक्षर, शालीनता र सतीत्वकी देवी होउन वा घरेलु, सबैमा निर्भीकता, साहस, उत्साह र सबैखाले चुनौतिहरुको सामना गर्ने साझा गुण रहेको पाइन्छ । यो नै महिलाहरुको मौलिक परिचय पनि हो । समकालीन नेपाली महिलाहरु प्रगति पथमा अग्रसर छन् । मानौ उनीहरुमा प्वाँख नै विकसित भएको छ । यस अर्थमा उनीहरुका लागि आकाश एउटा मात्र सीमा बनेको छ ।

वर्तमान आधुनिक नेपालमा महिलाहरुको भूमिका निश्चित रुपमा धेरै महत्त्वपूर्ण छ । पछिल्लो समय महिलाहरु आ- आफ्नो प्रगति र समृद्धिका लागि राष्ट्र पुननिर्माण, ग्रामीण उत्थान र देशकै विकासको योजनाहरुमा व्यस्त छन् । यस्तो अवस्थामा सामाजिक, आर्थिक र राजनीतिक स्तरमा महिलाहरुले पुरुषहरुसँग काँधमा काँध मिलाएर हिँड्न आवश्यक छ । यसो त महिलाहरुले जीवनको प्रत्येक क्षेत्रमा आफ्नो योग्यताको प्रदर्शन गरेकै छन् ।

संविधानमा पनि महिलालाई पुरुष समान अवसरको समानता प्रदान गरिएको छ । तर, महिलालाई नेतृत्व हस्तान्तरण गर्न त्यति सहज छैन। पछिल्लो उपराष्ट्रपतिमा महिलाको छनोट हुन नसक्नु यसको एउटा उदाहरण हुन सक्छ । यसो त संविधानको भावना हामी सबैले बुझेकै छौं । तर, त्यस अनुरूप नहुनु दुर्भाग्य हो ।

अर्को कुरा, समकालीन नेपाली महिलाहरुको अस्तित्व क्षेत्र / दायरा पछिल्लो समय व्यापक रुपमा बढ्दो छ । हाल यो क्षेत्र सेयर बजारको क्रियाकलाप, न्यायालयहरुमा न्यायिक प्रशासन, कार्यपालिकामा सांसदका रुपमा, अत्याधुनिक अस्पतालहरुमा शल्य चिकित्साको सम्पादन र मन्त्री तथा उच्च ओहदामा समेत पुगेर महिलाहरु आ-आफ्नो प्रतिभा, योग्यता र क्षमतालाई उच्च प्रदर्शन गरेका प्रशस्तै उदाहरण छन् ।

हामी महिला सत्य र निर्भीकताको पक्षधर हौं । त्यही भएर हामी लगातार निर्भीक नारीका अवधारणा प्रस्तुत गरिरहेका छौं । हामीलाई जबरजस्ती लैंगिक तथा शारीरिक बनावटका आधारमा तुच्छ सम्झने जुन प्रवृत्ति हाम्रो समाजमा विद्यमान छ, त्यसविरुद्धको प्रस्तुति हाम्रा अवधारणाहरुसँग जोडिएका छन् ।

हामी सहअस्तित्व र समानतालाई पनि पछ्याई रहेका छौं । त्यसैले हामी आफ्नो आवाज, दृष्टिकोण र विचार सबै समक्ष पुर्‍याउन चाहन्छौं । महिलाको भूमिका भनेको त्यागको हो । त्यागको साथै जिम्मेवारीको भूमिका पनि हो । हामी सबै कुरा त्याग्दै परिवार/बालबच्चामा केन्द्रित हुँदा पनि हाम्रोबारे समाजको दृष्टिकोण बदलिएको छैन । त्याग अवमूल्यन गर्नु किमार्थ उचित होइन र छैन ।

खासगरी राजनीतिमा महिलाको बढी अवमूल्यन हुने गरेको छ जुन न्यायसंगत हुँदै होइन, छैन । हरेक क्षेत्रमा निर्भीक र योग्य नारीलाई प्रोत्साहन र सहभागिता जरुरी छ । यसलाई हामीले एउटा अभियानका रुपमा लिएका छौं । त्यही अभियानको अर्को कडीका रुपमा हामीले निर्भीक नारीको तेस्रो संस्करण आयोजना गरेका छौं । हाम्रो यो आयोजनाको उद्देश्य बढी भन्दा बढी महिला नेतृत्वमा पुगुन्, उनीहरुले भावी नेतृत्वलाई प्रोत्साहित गरुन् र आफ्ना कमी/ कमजोरीलाई नलुकाई निर्धक्क आफ्नो पथमा अग्रसर होउन् ।

(कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रममा नारी सम्पादक घिमिरेले राखेको मन्तव्यको संपादित अंश)

प्रकाशित : चैत्र १५, २०७९ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?