२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

समाज र परिवारभित्रका विभिन्न अप्ठेरा चिर्दै महिलाहरू अघि बढेका छन् : सीईओ स्वाँर

काठमाडौँ — कान्तिपुर पब्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) महेश स्वाँरले महिलाहरू आर्थिक सबलता र सामाजिक विकास तथा चौतर्फी सशक्तीकरणमा सामेल भइरहेको बताएका छन् ।

समाज र परिवारभित्रका विभिन्न अप्ठेरा चिर्दै महिलाहरू अघि बढेका छन् : सीईओ स्वाँर

बुधबार कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सीईओ स्वाँरले प्रविधिले संसारभरि फड्को मार्दै गर्दा मूल्य–मान्यता र संस्कारले समाज र परिवारभित्र सिर्जना गरेका सबै अप्ठ्याराहरूलाई चिर्दै नेपाली महिलाहरू अघि बढेको बताएका हुन् ।

नेपाली महिला अब उच्च राजनीतिक तहमा पुगिसकेको उनको भनाइ छ । उनले भने, 'अब आधा आकाश आधा धरती होइन, हलोदेखि हवाईजहाजसम्म, सूचना प्रविधिदेखि वैज्ञानिकसम्म, उद्यमीदेखि उद्योगपतिसम्म, स्थानीय जनप्रतिनिधिदेखि राष्ट्रपतिसम्म भन्न थालौं ।'

लैंगिंक समानता महिलाको मात्रै भई समग्र मानव जातिको मुद्दा भएको सीईओ स्वाँरको भनाइ छ । उनले अगाडि भने, 'म नारीलाई आधा आकाश भन्न चाहान्न, यो त सिंगो आकाशको कुरा हो । मलाइ लाग्छ, अब हामीले लैंगिंक समानता भन्दा माथि उठेर समताको कुरा गर्नुपर्छ, त्यो पनि फरक आयाम र दृष्टिकोणबाट ।'

महिलाभित्रको आँट, साहस, क्षमता, शक्ति र दूरदर्शीतालाई प्रथामिकतामा राखिनुपर्ने र नारीलाई यिनै कुराका आधारमा मूल्यांकन गरिनुपर्छ आफ्नो मान्यता रहेको उनले बताए । उनले भने, 'नारीलाई प्रिटी, ब्युटीफुल, गर्जियस जस्ता सुगरकोटेड शब्द प्रयोग गरेर लामो समयदेखि अल्झाइरह्यौं, यही र यस्तै खाले बखानले कतै उनीहरु बीच बाटोमै अल्मलिए कि ? गन्तव्यसम्म पुग्नलाई कतै यिनै कुरा बाधक पो बने कि ? हामीले सोच्नुपर्ने बेला आएको छ ।'

कामकाजी महिलाको सन्तुलित जीवनका लागि पुरुषको सहयोग महत्त्वपूर्ण हुने पनि उनले बताए । 'महिलालाई सहायक मात्र नभएर नेतृत्व तहमा ल्याउने हो भने हिजो महिलाले मात्रै गर्नुपर्छ भनेर तोकिएका घरघरायसीलगायत बालबच्चाको रेखदेख, परिवार व्यवश्थापन र आफन्तसंगको सम्बन्ध कायम राख्ने क्रियाकलापमा पुरुषको पहल र भुमिका उत्तिक्कै जरुरी छ,' उनले भने ।

कान्तिपुर मिडिया ग्रुप महिला विकास र सशक्तीकरणको पक्षमा निरन्तर उभिँदै आइरहेको पनि सीईओ स्वाँरको भनाइ छ । 'हिमालका दावाफुट्टीदेखि तराइका म्रिनाली हुन या सुदुरका मनसरा, दिलसरा सबैलाई हामीले उत्तिकै सम्मानका साथ स्थान दिएर प्रस्तुत गर्नमा कहिल्यै कुनै कन्जुस्याइँ गरेका छैनौं । कान्तिपुर सधैं समानता र परिवर्तनको पक्षमा छ,' उनले भने ।

प्रकाशित : चैत्र १५, २०७९ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?