राष्ट्रपतिमा पौडेलजी अत्यधिक मतले विजयी हुनुहुन्छ : कांग्रेस नेता सिटौला

फाल्गुन १३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन् । शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिटौलाले पार्टीले वरिष्ठ नेता पौडेललाई सर्वसम्मतीले स्वीकार गरेको बताए  । 

नेता सिटौलाले राष्ट्रपतिमा आफ्नो चर्चा हुनु स्वभाविक रहेको पनि बताए । उनले शुक्रबार बैठकमा सहभागी ८ दलले नै पूर्ण रुपमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने पनि बताए । 

‘राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल सर्वसम्मत हुनुभएको हो । मेरो पनि चर्चा थियो, त्यो स्वभाविक पनि छ । सभापतिज्यूले प्रस्ताव राख्नुभयो, हामीले सर्वसम्मतले पास गरेका छौँ । अहिले गठबन्धनमा रहेका सबैको समर्थन रहन्छ । उहाँको विजय निश्चित छ । अत्यधिक मतले विजय निश्चित छ,’ सिटौलाले भने । 

राष्ट्रपतिको निर्वाचनमा आठ दलले नयाँ गठबन्धन बनाएका छन् । गठबन्धन चुनावको दिनसम्म नभत्केमा यसबाट उठेका उम्मेदवारको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिएको छ । शुक्रबार बनेको गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा छन् ।

यी दलका सांसदहरुको मतभार जोड्दा स्पष्ट बहुमत पुग्नेछ । राष्ट्रपति निर्वाचनमा प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु मतदाता हुन्छन् ।

मतदाता रहेका कुल सांसदहरुको मतभार ५२ हजार ६ सय २८ छ । त्यसको पचास प्रतिशत मत कटाउने निर्वाचित हुन्छन् । त्यसैले निर्वाचित हुनका लागि न्यूनतम २६ हजार ३ सय १५ मत आवश्यक पर्छ । शुक्रबार बनेको गठबन्धनको पक्षमा रहेका सांसदहरुको मतभार ३१ हजार ९१७ हुन्छ । त्यसैले यो गठबन्धन चुनावको दिनसम्म नभत्केमा यसैबाट बनेका उम्मेदवार राष्ट्रपति बन्ने निश्चित हुन्छ ।

राष्ट्रपति निर्वाचन

कान्तिपुर

Link copied successfully