नेपालमा हालसम्म १०४ वटा हवाई दुर्घटना, साढे ८ सयभन्दा बढीको मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा हालसम्म १०४ वटा हवाई दुर्घटना, साढे ८ सयभन्दा बढीको मृत्यु

सुरज कुँवर

काठमाडौँ — नेपालको हवाई उड्ययन इतिहासमा आइतबार पोखराको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ । २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको 'एभीएसन सेफ्टी रिपोर्ट' अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५० औं दुर्घटना हो । त्यस्तै नेपालमा हालसम्म एक इन्जिनयुक्त आठ वटा दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी नेपालमा हालसम्म १ सय ४ वटा दुर्घटना भइसकेका छन् ।

यी दुर्घटनामा अहिलेसम्म साढे ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । आइतबारको पोखारा दुर्घटनाबाहेक हालसम्म यी हवाई दुर्घटनामा ८ सय ४९ को मृत्यु भइसकेको छ ।

जसमा आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ ३ सय ७५ गरी गरी जम्मा ८ सय ४९ को मृत्यु भइसकेको छ ।

आइतबार पोखराका लागि चार चालक दल र ६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यति एयरको एटीआर विमान घटना यति समूहको २४ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो ।

किन भइरहन्छ नेपालमा हवाई दुर्घटना ?

यसअघि गत जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको थियो । सुगम उडानमा यतिको नाममा ५ वटा एटीआर विमान भएको यो कम्पनीसँग अब ४ वटा एटीआर बाँकी छन् ।

प्रकाशित : माघ १, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री पोखरा जाने कार्यक्रम रद्द

कान्तिपुर संवाददाता

काठमाडौँ — यति एयरलाइन्सको विमान दुर्घटनाबारे जानकारी लिन पोखरा जाने प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यक्रम रद्द गरिएको छ । सुरक्षा निकायको सुझाव अनुसार प्रधानमन्त्री दाहाल पोखरा जाने कार्यक्रम रद्द गरिएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । 

मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री यति एयरलाइन्सको विमान दुर्घटनास्थल पोखरा जाने र त्यहाँको अवस्थाबारे जानकारी लिने कार्यक्रम तय भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका थिए ।

'भीआइपी पोखरा जाँदा उद्धारमा समस्या आउन सक्ने भएकाले सुरक्षा निकायको सुझाव अनुसार प्रधानमन्त्री पोखरा नजानु हुने भएको हो,' मल्लले भने ।

प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री पोखरा जाने तय भएको थियो ।

विमान दुर्घटनाको केही समयमै प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको रेस्क्यु कोअर्डिनेसन केन्द्रमा पुगेर उद्धार कार्यको जानकारी लिएका थिए ।

प्रकाशित : माघ १, २०७९ १५:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×