एमाले उम्मेदवार योगेश भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

कार्तिक १६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट एमाले उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ ।

भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्‍घा गाउँपालिका वडा नं. ३ सिकैचामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ख) मा 'स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने' र खण्ड (ण) मा 'निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकी सहित जान नहुने' व्यवस्था छ ।

आचारसंहिताबमोजिम आकारका १० वटासम्म झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटासम्म तुल वा फ्लेक्स राख्न बाधा नपर्ने उल्लेख छ ।

'तपाईंबाट निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार कारण के छ? तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबाही किन हुनु नपर्ने हो ? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ ।,' आयोगको स्पष्टीकरणमा भनिएको छ । 

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully