काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दशगजा क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताएको छ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार सार्वजनिक गरेको घोषणापत्रमा नेकपा एसले दशगजा क्षेत्रलाई व्यवस्थित गरिने बताएको हो । घोषणापत्रमा देशबाट बाहिरिने र देशमा भित्रिने मानिसहरूको व्यवस्थित रेकर्ड राखिने उल्लेख छ ।
घोषणापत्रमा भनिएको छ, 'नेपालको अन्तर्राष्ट्रिय सिमानालाई अन्र्त राष्ट्रिय कानुन र स्थापित मूल्य मान्यताअनुरुप नियमित गर्ने, देशका सिमाना दशगजा क्षेत्रलाई व्यवस्थित गरी राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै देशबाट बाहिरिने र देशमाभित्रिने मानिसहरूको व्यवस्थित रेकर्ड राखिने छ ।' त्यस्तै विभिन्न छिमेकी राष्ट्रसँग देखिएका सीमा विवाद कूटनीतिक पहलमार्फत समाधान गरिने घोषणापत्रमा बताइएको छ ।
अतिक्रमित नेपाली भूभाग फिर्ताका लागि उच्च प्राथमिकतासहित कूटनीतिक पहल गरिने बताइएको छ । घोषणापत्रमा भनिएको छ, 'मित्र राष्ट्रसँगको सीमा समस्या समाधान गर्न र अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कूटनीतिक पहल गर्न दबाब दिइने छ ।'
यस्तो छ नेकपा एसको घोषणापत्र
