प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम : मन्त्री भुसाल

कार्तिक १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छन् ।

ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार मन्त्री भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । ललितपुरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि निर्वाचन नलड्ने अवस्था आउने स्पष्ट पारिन् । उनले त्यसबेला आफूले समानुपातिकतर्फको निर्वाचनमा जान सक्ने वा पार्टीको महत्वपूर्ण जिम्मेवारी लिएर बस्न सक्ने भन्दै युवाहरुलाई प्रत्यक्षतर्फको निर्वाचनमा लड्ने तयारीमा लाग्न पनि आग्रह गरिन् । 

‘१६ वर्ष हुँदा म ललितपुर आएको हुँ । गत साउन ४ गतेबाट ६० वर्ष पुगेँ । अब अर्को संसद् आउने बेलासम्म ६५ वर्ष पुग्छु,' मन्त्री भुसालले भनिन्, 'अरु कुनै कारणले होइन्, उमेर अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न घरघर जान अनि टोलटोल पुग्ने अब मसँग इच्छा छैन । अब युवा साथीहरु आउनुहोस् । मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भने पनि हुन्छ । राष्ट्रिय सभा पनि छ । अरु राजनीतिक मोर्चाहरु पनि छन् । पार्टीको जिम्मेवारी लिएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु । यो अन्तिम चोटी हो प्रत्यक्षमा ।’

मन्त्री भुसालले संविधान रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि सत्तारुढ गठबन्धन बनेको र आगामी निर्वाचनपछि पनि यसले निरन्तरता पाउने दाबी गरिन् । 

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully