कांग्रेसको घोषणापत्र यथार्थपरक छ : अर्थशास्त्री वाग्ले

कार्तिक १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन् । शनिबार शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै अर्थशास्त्रीसमेत रहेका वाग्लेले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्रका रूपमा चर्चा गरेका हुन् ।

नेता वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु राखिएको बताए । युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ श्रोतहरुको विषयलाई प्राथमिकता दिएको पनि उनको भनाइ छ । नेता वाग्लेले घोषणापत्रमा डिजिटलाइजेसन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिब अढाई लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनीयताका आधारहरु समावेश गरेको उल्लेख गरे ।

‘घोषणापत्रमा मनगढन्ते कुराहरु राखिने गरिन्छ भन्ने आरोप लागेको छ तर हामीले यसपालि असाध्यै यथार्थपरक कुराहरु मात्रै राखेका छौँ । वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र राखेका छौँ । दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु राखेका छौँ । स्थानीय निर्वाचनमा बोलेका धेरै कुराहरु यहाँ ल्याएका छैनौँ । युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ श्रोतहरुको विषयलाई प्राथमिकता दिएका छौँ । डिजिटलाइजेसन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय भनेर हामीले वार्षिक करिब अढाई लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनियताका आधारका कुराहरु समावेश गरेका छौँ,’उनले भने । 

वाग्लेले पार्टीको घोषणापत्रमा तात्कालिक आर्थिक एजेन्डाका रूपमा ५ वटा विषयहरू समावेश गरेको बताए । जसमा आयात, बाह्य असन्तुलनको विषय, कर्जा र तरलता, मुद्रास्फीति विषयहरु रहेका छन् । मुद्रास्फीतिका विषय आगामी सरकार बनेको ६ महिनाभित्रमा समाधान हुने वाग्लेले बताए । नेता वाग्लेले सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार र नेपाली उत्पादन प्रवर्द्धन र युवाहरुका लागि डिजिटलाइजेसनको विषय तत्काल आर्थिक एजेन्डाका रूपमा पार्टीको घोषणापत्रमा उल्लेख गरिएको बताए ।

घोषणापत्रमा ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिने लगायतका विषय समावेश गरिएको छ । ५ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गरिने, स्वास्थ्य बीमा गरेका ६५ वर्षमाथिका लागि निःशुल्क स्वास्थ्य सेवा दिइने, उपचार गर्नका लागि कसैले घर खेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्ने, बाल मृत्युदरलाई २० प्रतिशतमा झार्ने उल्लेख गरिएको छ । यस्तै ३० देखि ३५ वटा ऐन संशोधन वा खारेज गरेर रोजगार सिर्जनाको वातावरण निर्माण गर्ने, वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना गर्ने, इन्धन प्रतिस्थापन गर्न विद्युतीय ऊर्जालाई जोड दिने, शैक्षिक क्षेत्रका ८० प्रतिशत क्षेत्रमा इन्टरनेट पुर्‍याउने योजना छन् ।

प्रतिदिन सय डलर एक पर्यटकले खर्च गर्ने, १५ दिन नेपालमा बस्ने गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यसका लागि विमानस्थलदेखि पर्यटकीय क्षेत्रका पूर्वाधार विकास गर्ने कांग्रेसको घोषणापत्रमा समावेश छन् ।

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully