लिपुलेक, कालापानी, सुस्ता र हुम्लाको सीमा विवाद कूटनीतिक प्रयासबाट समाधान गर्ने

कार्तिक १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतसँगको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ । शनिबार घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले भारतसँग कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रमा देखिएका सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने भनेको छ ।

चीनसँग पनि हुम्ला जिल्लामा सीमा विवाद देखिएको र त्यसलाई समाधान गर्नका लागि कूटनीतिक प्रयास गरिने घोषणापत्रमा लेखिएको छ । 'भारतसँग भएको सीमा विवाद सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा कूटनीतिक प्रयासबाट समाधान गरिने छ,' घोषणापत्रमा लेखिएको छ, 'गत भारत भ्रमणको अवसरमा प्रधानमन्त्री देउवाले भारतसँगको सीमा समस्याको बारेमा नेपालको स्पष्ट धारणा र अडान भारत सरकारिसँग राख्नु भएको छ ।'

चीनसँग हुम्लामा सीमा विवाद रहेको भन्दै आएको कांग्रेसले यसबारे घोषणापत्रमा लेखेको छ, 'त्यस्तै चीनसँग हुम्ला जिल्लाको उत्तरी सीमामा देखिएको विवाद कूटनीतिक प्रयासबाट समाधान गरिने छ ।'

कांग्रेसले आफ्नो राष्ट्रियताको मुद्दामा भूगोल र जनता रहने स्पष्ट पारेको छ । 'राष्ट्रियता भनेको केवल भूगोल मात्रै होइन, देशका जनता पनि हुन् । त्यसैले भूगोलका साथै जनताकेन्द्रित राष्ट्रियता नेपाली कांग्रेसको मूलमन्त्र हो,' घोषणापत्रमा लेखिएको छ । कांग्रेसले आफूलाई सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्ने सच्चा उदार राष्ट्रवादी र देशभक्त पार्टी भनेको छ ।


आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully