आयोगले हटायो निर्वाचन शिक्षा सम्बन्धी भिडियो

कार्तिक ५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले निर्वाचन शिक्षा सम्बन्धी भिडियो सार्वजनिक गरेको भोलिपल्ट नै हटाएको छ । आयोगले उक्त भिडियो सामग्री परिमार्जनका लागि हटाएको जनाएको छ ।

यस्तै उक्त भिडियो सामग्रीका कारण सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति निर्वाचन आयोगले क्षमासमेत मागेको छ ।

आयोगले जनाएको छ, 'सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाएका छौँ। यसबाट सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति निर्वाचन आयोग क्षमा प्रार्थी छ।'

शुक्रबार मात्रै निर्वाचन आयोगले प्रतिनिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि सन्देशमूलक गीत तथा भिडियो सामग्री सार्वजनिक गरेको थियो । सार्वजनिक भएको भिडियोमा भने सञ्चारकर्मी हेम सुवेदी र उनकी पत्नी आकृति घिमिरे गीत गाउँदै गरेको देखिएका थिए ।

गीतको शब्द, लय, भिडियोमा गरिएको अभिनय लगायत विषयलाई लिएर उक्त भिडियो सार्वजनिक भएको भोलिपल्ट शनिबारसम्म सामाजिक सञ्जालमा व्यापक आलोचना र टिप्पणी हुँदै आएको थियो ।

कान्तिपुर

Link copied successfully