कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसपीपी पत्राचार विवादमा ओलीले भने : अमेरिकी दूतावासले सत्य बोल्नुपर्छ

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धमा नेपाली सेनाले लेखेको पत्रबारे अमेरिकी दूतावासले सत्यतथ्य बोल्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

एसपीपी पत्राचार विवादमा ओलीले भने : अमेरिकी दूतावासले सत्य बोल्नुपर्छ

नेता ओलीले भनेका छन्, ‘यो पत्र म प्रधानमन्त्री नहुँदै एम्बेसीमा पठाइएको थियो । यसबारे सत्य अमेरिकी एम्बेसीले बोलोस् भन्ने चाहान्छु ।’

ओलीले पत्रमा मिति र चलानी नम्बर हातले लेखेको विषयलाई लिएर पनि सेनाप्रति आपत्ति जनाएका थिए । ‘एसपीपी सम्बन्धमा म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुनुसक्छ, चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ । पहिलेको हटाएर, पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ, हातले । सबै टाइप छ, पछि हातले किन लेख्नु पर्छ । टिपेक्स लगाएर मेटाएर हातले लेखेको स्पष्ट छ । हातले नलेखेको पत्र निकाल्न म सरकारलाई भन्न चाहान्छु,’ अध्यक्ष ओलीले भने ।

यसअघि एमालेका सांसदहरूले पनि यो विषयलाई संसदीय समितिमा उठाएका थिए । समितिमा उपस्थित रहेका प्रधान सेनापति प्रभुराम शर्माले तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको जवाफ दिँदै पत्रमा हस्ताक्षर गर्ने अधिकारीले नै हातले मिति लेख्ने चलन भएको बताएका थिए ।

ओलीले भने यसबारे पूर्वसेनापति क्षेत्रीसँग सोध्नुपर्ने प्रतिक्रिया दिएका थिए । ओलीले भनेका छन्, ‘त्यस समयमा प्रधान सेनापति राजेन्द्रबहादुर क्षत्री जीवितै अमेरिकामा हुनुहुन्छ । उहाँसँग सोधे हुन्छ नि त । त्यस समयको रक्षामन्त्री र प्रधानमन्त्रीलाई बताउनु भएको थियो कि थिएन ? नेपाली सेनाले बतायो कि बताएन ? त्यो बताएको भए सेनाले पत्राचार गर्ने कुरा सरकारले रोक्थ्यो । सेनालाई एम्बेसीलाई पत्र लेख्ने कुरामा रोक्थ्यो ।’

कार्यक्रममा ओलीले आफूले नभएर आफूअघिका प्रधानमन्त्री सुशील कोइरालाले नै एसपीपीमा जाने विषयमा निर्णय गरेको आरोप लगाएका थिए ।

‘२७ अक्टोबर भनेर मिति लेखिएकोमा त्यो २७ चाहिँ हातले लेखिएको छ । र अरु सबै टाइप । किनभने त्यसमा हातले केरमेट गर्नुपर्‍यो । त्यो मोटाएर २७ तारिख लेखिएको छ । किनभने केपी ‌ओलीलाई कोच्नका लागि आज लेखिएको हो त्यो २७ तारिख । अहिले लेखिएको हो’ ओलीले भने, ‘चलानी नम्बर पहिलेको फेरिएर ८५ कसरी भयो । हातले किन लेख्नु पर्‍यो ? सबै लाइनमा छ । बीचको ८५ चाहिँ छैन । सबै टाइप गरिएको छ र बीचको ८५ कसरी हातले लेख्नु पर्‍यो ? यो छली काम अहिलेको सरकारले गरेको छ।’

अध्यक्ष ओलीले हाल निर्वाचन आयोगका सदस्य रहेका तत्कालीन रक्षासचिव ईश्वरी पौडेलले पत्र लेख्ने विषयमा तत्कालीन प्रधानमन्त्री ओलीलाई जानकारी रहेको भनेर दिएको अभिव्यक्तिको पनि खण्डन गरेका छन् । यसबारे ओलीले पौडेललाई 'कांग्रेसी पल्टिन खोजेको' आरोप लगाएका छन् ।

‘अहिले निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेलले केपी ओलीको पालामा भनेर निकै कांग्रेसी पल्टिन खोज्नु भयो । सत्ता पक्षीय पल्टिन खोज्नुभयो । उहाँ रक्षासचिव हुनुहुन्थ्यो केपी ‌ओलीलाई बताएको थिएँ भन्नु भएछ । उहाँले केपी ओलीलाई भेट्नु भयो ? केपी ओली हेडक्वाटर गयो ? वा पत्राचार गरेर सोध्नु भयो ?’ ओलीले पौडेललाई लक्षित गर्दै प्रश्न गरे ।

प्रकाशित : असार १४, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?